‘निर्मला प्रकरणमा म १०० प्रतिशत निर्दोष छु’ : आँचल बम

महेन्द्रनगर, २२ असार । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणसँग जोडिएर आफ्नो परिवारमाथि लाग्दै आएका आरोपबारे बम परिवारकी आँचल बमले सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै आफू र आफ्नो परिवार निर्दोष रहेको दाबी गरेकी छन्।
आँचलले घटनापछि काटिएको अम्बाको रुखबारे फैलिएका आरोप असत्य रहेको बताएकी छन्। उनका अनुसार निर्मलाको घटनाको केही दिनपछि घरमा हुने अनावश्यक भीडभाड कम गर्ने उद्देश्यले परिवारकै निर्णयमा रुख काटिएको हो। रुख काट्न प्रहरी वा अन्य कुनै निकायको दबाब नरहेको उनको भनाइ छ।

उनले रुख काट्ने व्यक्ति अहिले पनि जीवित रहेको उल्लेख गर्दै सत्य जान्न चाहनेहरूले सम्बन्धित व्यक्ति र स्थानीय बासिन्दासँग बुझ्न सक्ने बताएकी छन्। साथै, केही सञ्चारमाध्यम र मानवअधिकारकर्मीहरूले रुखसँग जोडेर भ्रम फैलाएको आरोप पनि लगाएकी छन्।
आँचलले पोस्टमार्टम प्रतिवेदनमा बलात्कार र घाँटी थिचेर हत्या गरिएको उल्लेख रहेको दाबी गर्दै त्यसलाई बेवास्ता गरेर घटनालाई रुखसँग मात्रै जोड्नु गलत भएको बताएकी छन्।
उनले आफ्नो परिवारविरुद्ध झूटा आरोप लगाएर चरित्रहत्या गरिएको दाबी गर्दै पत्रकार खेम भण्डारी तथा मानवअधिकारकर्मी इन्द्र अर्याल र फुलाराविरुद्ध गालीगलौज तथा चरित्रहत्यासम्बन्धी मुद्दा दर्ता गरिएको तर लामो समयसम्म त्यसको टुंगो नलागेको उल्लेख गरेकी छन्।
आँचलका अनुसार लामो समयसम्मको मानसिक तनावका कारण आफूले अदालतको तारिखसमेत छाड्नुपरेको थियो। उनले त्यसो नगरेको भए सम्बन्धित व्यक्तिहरू कानुनी कारबाहीमा परिसक्ने दाबी पनि गरेकी छन्।
साथै, निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान पुनः सुरु भए पनि आफूलाई कुनै आपत्ति नरहेको उल्लेख गर्दै उनले आफू “१०० प्रतिशत निर्दोष” रहेको र अनुसन्धानमा विगतदेखि नै सहयोग गर्दै आएको तथा भविष्यमा पनि पूर्ण सहयोग गर्ने बताएकी छन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कानुनी कारबाही गर्न तथा निर्दोषमाथि अन्याय गर्ने व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेकी छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
