जङ्गली हात्ती ‘धुर्बे’को आक्रमणमा आमा–छोराको मृत्यु

चितवन – चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा आतंक मच्चाउँदै आएको जङ्गली हात्ती ‘धुर्बे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टामा एक आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको छ।
मध्यरातमा घरमा सुतिरहेका २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।

वन्यजन्तु विज्ञहरूका अनुसार धुर्बे विगत लामो समयदेखि मानव–हात्ती द्वन्द्वको केन्द्रमा रहँदै आएको जङ्गली भाले हात्ती हो। सन् २००९ यता यस हात्तीको आक्रमणबाट दुई दर्जनभन्दा बढी मानिसको ज्यान गएको विभिन्न अभिलेखमा उल्लेख छ। यसअघि पनि यसले घरमा क्षति पुर्याउने र बस्तीमा प्रवेश गर्ने घटना दोहोर्याउँदै आएको थियो।
केही वर्षयता धुर्बे शान्त देखिए पनि पछिल्लो घटनाले निकुञ्ज आसपासका बासिन्दामा पुनः त्रास फैलिएको छ। स्थानीयले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
