घटना

सरकारले उपचारमा कुनै कमी गरेन, सरकारविरुद्ध बोल्न दबाब आयो : गणेश नेपालीका दाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीका दाइले सरकारले उपचारमा कुनै कमी नगरेको बताएका छन्। उपचारदेखि थप व्यवस्थापनसम्म सरकारका उच्च तहका अधिकारीहरू सक्रिय रहेको उल्लेख गर्दै उनले सरकारविरुद्ध बोल्न विभिन्न पक्षबाट दबाब आएको दाबी गरेका छन्।

पत्रकार दिवाकर साहसँगको कुराकानीमा गणेश नेपालीका दाइले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि गृह मन्त्रालयसम्म उपचारका लागि निरन्तर चासो र पहल भएको बताए। उनका अनुसार उपचारका क्रममा आवश्यक औषधि, चिकित्सकीय सेवा तथा अन्य व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी राखेको थिएन।

बिज्ञापन

उनले भाइको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको जानकारी दिए। आवश्यक समन्वय र प्रक्रिया अघि बढाइए पनि उपचारकै क्रममा गणेश नेपालीको निधन भएकाले उक्त योजना कार्यान्वयन हुन नसकेको उनले बताए।

उनले आफूलाई केही पुराना राजनीतिक दलका नेताहरू, केही पत्रकार तथा विभिन्न सञ्चारमाध्यमबाट सरकारको आलोचना गर्ने अभिव्यक्ति दिन दबाब तथा उक्साहट आएको दाबी गरे। तर आफूले वास्तविकता लुकाएर कुनै पनि पक्षको प्रभावमा नपरी सत्य कुरा मात्रै सार्वजनिक गरेको उनको भनाइ छ।

“उपचारमा सरकारले कुनै कमी गरेको थिएन। प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रीसम्म सबैले आवश्यक पहल गर्नुभएको थियो। मलाई सरकारविरुद्ध बोल्न धेरैले दबाब दिए, तर मैले जे सत्य थियो, त्यही भनेँ,” उनले अन्तर्वार्ताका क्रममा बताएका छन्।

गणेश नेपालीको आत्मदाह प्रयास र त्यसपछि भएको निधनको घटनाले देशभर विभिन्न कोणबाट बहस सिर्जना गरिरहेको छ। घटनाको कारण, सरकारी भूमिका र समग्र परिस्थितिबारे सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म फरक–फरक टिप्पणी भइरहेका बेला परिवारको पछिल्लो अभिव्यक्तिले घटनाबारे नयाँ बहस सुरु भएको छ।

यद्यपि, गणेश नेपालीको आत्मदाह प्रयासको कारण, उपचार प्रक्रिया तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे सम्बन्धित निकायले अनुसन्धान र आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।