ब्रह्मज्ञानपछि मानव जीवनको वास्तविक यात्रा सुरु हुन्छ : नरबहादु बटाला

हेल्थपोष्ट (दोदोधारा), २८ असार । सन्त निरंकारी सत्संग भवन, हेल्थपोष्ट (दोदोधारा) मा आयोजित सत्संग कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले सद्गुरुको कृपा, गुरु मर्यादा, मानवता तथा आध्यात्मिक जीवनका विषयमा विचार व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाले सत्संग सद्गुरुको कृपाबाट प्राप्त हुने अमूल्य अवसर भएको बताउनुभयो। उहाँले सद्गुरुले निर्धारण गरेको गुरु मर्यादाको पालना गर्दै समयमै सत्संग सम्पन्न गर्नु प्रत्येक भक्तजनको दायित्व भएको उल्लेख गर्नुभयो। गुरु मर्यादाभित्र रहेर गरिने सेवा र साधनाबाट मात्रै वास्तविक आध्यात्मिक लाभ तथा आशीर्वाद प्राप्त हुने उहाँको भनाइ थियो।


उहाँले परमात्माभन्दा ठूलो कुनै शक्ति नरहेको र आत्मा परमात्माकै अंश भएको उल्लेख गर्दै आत्ममन्थन अर्थात् आत्मचिन्तनमार्फत परमात्मासँगको सम्बन्ध अनुभूति गर्न सकिने बताउनुभयो। सद्गुरुले ब्रह्मज्ञान प्रदान गर्दा जात, जाति, रङ्गभेद, खानपान तथा रहनसहनका आधारमा कुनै विभेद नगर्ने भएकाले सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने उहाँले जोड दिनुभयो।
बटालाले ब्रह्मज्ञान प्राप्त गरेपछि मात्र मानव जीवनको वास्तविक आध्यात्मिक यात्रा सुरु हुने धारणा राख्दै सही मार्गमा निरन्तर अघि बढ्न सद्गुरुको सुमिरण आवश्यक रहेको बताउनुभयो।
उहाँले कर्मकाण्डलाई समाजलाई सन्तुलित बनाउने माध्यमका रूपमा व्याख्या गर्दै मानव सेवा नै सच्चा नारायण सेवा भएको उल्लेख गर्नुभयो। सबैप्रति प्रेम, सम्मान र सहयोगको भावना राख्न सके मोक्षको अधिकारी बन्न सकिने तथा मानवको वास्तविक जात मानवता नै भएकाले विभेदरहित समाज निर्माणमा सबैले योगदान दिनुपर्ने उहाँको भनाइ थियो।

पाँच प्रण र नौ प्रकृतिको सिद्धान्तलाई आत्मसात् गर्दै आत्ममन्थनका साथ जीवनलाई अघि बढाउन सके मानव जीवनलाई सार्थक बनाउन सकिने उहाँले बताउनुभयो।
सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका सहसचिव नरबहादुर विक, सेवादल सञ्चालक बलबहादुर सार्की तथा सेवादलका जवान प्रकाश भण्डारी, प्रकाश ठकुल्ला, इन्द्रसिंह, मान सिंह, भगत सिंह, कृष्ण खड्का, मदन सिंह, गुलाब सिंह, जगत सिंह, अमृता, रणसिंह, अक्षता, मोतीराम, लालमती, पार्वती, सीता, लक्ष्मी, दिव्या लगायत स्थानीय सन्त भक्तजनहरूले भजन तथा प्रवचनमार्फत आफ्ना आध्यात्मिक भावना व्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन स्थानीय महापुरुष अमृताजीले गर्नुभएको थियो।
सन्त निरंकारी सत्संग भवन, लठ्ठाघाटमा आयोजित सत्संग कार्यक्रम सम्पन्न भएपछि सन्त निरंकारी मण्डल नेपालका क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाले सेवादलका जवानहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको छ।

प्रशिक्षणका क्रममा उहाँले सेवादलका जवानहरूको भूमिका, अनुशासन, सेवा भावना, गुरु मर्यादाको पालना, संगठनात्मक जिम्मेवारी तथा आध्यात्मिक जीवनमा सेवादलको महत्त्वका विषयमा विस्तृत जानकारी दिनुभएको थियो। सेवा केवल शारीरिक श्रममा सीमित नभई समर्पण, विनम्रता, अनुशासन र मानव सेवाको भावनासहित सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो।
उहाँले सेवादलका सदस्यहरू सदैव अनुशासित, समयनिष्ठ, जिम्मेवार र सेवाप्रति समर्पित हुनुपर्नेमा जोड दिँदै गुरुको निर्देशन र संगठनको मर्यादाअनुसार कार्य गर्दा मात्रै सेवाको वास्तविक उद्देश्य पूरा हुने उल्लेख गर्नुभयो। साथै, सेवा कार्यलाई मानवताको सेवासँग जोड्दै सबैप्रति सम्मान, सहयोग र सद्भावको व्यवहार गर्न उहाँले आग्रह गर्नुभयो।
प्रशिक्षणपछि सेवादलका जवानहरूलाई शारीरिक तन्दुरुस्ती, अनुशासन, समन्वय र टोलीभावनाको विकास गर्ने उद्देश्यले शारीरिक पिटी (Physical Training) परेडसमेत गराइएको थियो। परेडका क्रममा लाइन व्यवस्थापन, मार्चपास, शारीरिक अभ्यास तथा अनुशासनसम्बन्धी विभिन्न अभ्यास गराइएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.