टीकापुरबाट रेशम चौधरीको ‘मिसन २०८४’ अभियान, संगठन सुदृढीकरणमा जोड

टीकापुर, कैलाली। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई पुनः सशक्त बनाउने अभियान सुरु भएको बताएका छन्।


कैलालीको टीकापुरमा आयोजित विशेष कार्यक्रममा बोल्दै चौधरीले विगतका मतभेद र असमझदारीलाई अन्त्य गर्दै पार्टीका पुराना निष्ठावान कार्यकर्तालाई सम्मानसहित पुनः पार्टीमा फर्काउने र नयाँ ऊर्जावान नेता–कार्यकर्तालाई खुलेर स्वागत गर्ने रणनीतिमा पार्टी अघि बढेको बताए।

उनले संगठनलाई पुरानै लयमा फर्काउने तयारी तीव्र बनाइएको उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरी पार्टीभित्र एकता, संगठन विस्तार र जनआधार सुदृढीकरणमा विशेष ध्यान दिइएको जानकारी दिए।

चौधरीका अनुसार ‘मिसन २०८४’ अभियानको मुख्य उद्देश्य पहिचान र अधिकारका मुद्दालाई लोकतान्त्रिक तथा निर्वाचन प्रक्रियामार्फत निष्कर्षमा पुर्याउनु हो। त्यसका लागि पार्टीले देशभर संगठन विस्तार र कार्यकर्ता परिचालनलाई प्राथमिकतामा राखेको उनले बताए।

कार्यक्रममा उनले सबै नेता तथा कार्यकर्तालाई व्यक्तिगत मतभेदभन्दा माथि उठेर पार्टीको साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै नागरिक उन्मुक्ति पार्टीलाई थप बलियो बनाउने अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।



You must be logged in to post a comment.