दुबई पुगेको दुई दिनमै दैलेखका युवाको मृत्यु, परिवार शोकमा

सुर्खेत, २८ असार । परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर दुबई पुगेका दैलेखका एक युवाको त्यहाँ पुगेको दुई दिनमै मृत्यु भएको छ। उनको शव २० दिनपछि नेपाल ल्याइएपछि परिवार शोकमा डुबेको छ।
पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपाली असार १२ गते रोजगारीका लागि दुबई गएका थिए। उनी त्रिवेणी एचआर सोलुसन प्रालिमार्फत दुबईस्थित अल्टाफाडोल भवन मर्मतसम्भार कम्पनीमा श्रमिकका रूपमा काम गर्न पुगेका थिए।

परिवारका अनुसार दुबई पुगेपछि उनले आफू सकुशल पुगेको जानकारी दिएका थिए। तर त्यसको दुई दिनपछि अर्थात् असार १४ गते कम्पनीले उनको मृत्यु भएको खबर परिवारलाई पठाएको थियो।
स्थानीय वसन्त शर्माका अनुसार कम्पनीले भक्तबहादुरले भवनबाट हाम फालेर ज्यान गुमाएको जनाएको छ। यद्यपि घटनाको वास्तविक कारणबारे आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन। कम्पनीका केही व्यक्तिले उनी घटनाअघि तनावग्रस्त देखिएको र सिँढीमा तलमाथि गरिरहेको बताएका छन्।
परिवारले भने नेपालबाट जाँदा भक्तबहादुरमा कुनै मानसिक समस्या वा असामान्य व्यवहार नदेखिएको जनाएको छ। त्यसैले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।
यसअघि भारतमा मौसमी रोजगारी गर्दै आएका भक्तबहादुरले परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले ऋण गरेर दुबई जाने निर्णय गरेका थिए। उनका बुबा कहिलो दमाइका अनुसार वैदेशिक रोजगारीमा जान म्यानपावर शुल्कसहित करिब दुई लाख ५० हजार रुपैयाँ खर्च भएको थियो, जसको अधिकांश रकम ऋण लिइएको थियो।
‘परिवारको खुसीका लागि विदेश गएको छोरो महिनादिन नबित्दै बाकसमा फर्कियो,’ बुबा कहिलोले भावुक हुँदै भने, ‘गरिबको भाग्य जहाँ गए पनि उस्तै रहेछ।’
भक्तबहादुरका श्रीमती, चार वर्षीया छोरी र दुई वर्षीय छोरा छन्। उनकी श्रीमती हाल छ महिनाकी गर्भवती रहेको परिवारले जनाएको छ।
उनको रोजगार सम्झौताअनुसार मासिक एक हजार युएई दिराम तलबमा दुई वर्षका लागि काम गर्न गएका थिए। दैनिक आठ घण्टा र साप्ताहिक ४८ घण्टा काम गर्ने सम्झौता भए पनि उनी कम्पनीमा पुगेको पहिलो दिन आराममा रहेका कारण काम सुरु गर्न पाएका थिएनन्। दोस्रो दिनबाट काममा जाने तयारी रहे पनि त्यसअघि नै उनको मृत्यु भएको बताइएको छ।
उनका आफन्त सुरेन्द्र नेपालीले असार १७ गते वैदेशिक रोजगार बोर्डमा शव नेपाल ल्याइदिन निवेदन दिएका थिए। बोर्डको समन्वयपछि बिहीबार भक्तबहादुरको शव काठमाडौं ल्याइएको थियो भने आइतबार परिवारले शव बुझेर दैलेख लगेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
