नदीमा हात–मुख धुने क्रममा गोहीको आक्रमण, १२ वर्षीय बालकको मृत्यु

काबहराइच । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा नदीमा हात–मुख धुने क्रममा १२ वर्षीय एक बालकमाथि गोहीले आक्रमण गर्दा उनको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुनिल सिंह आफ्ना काकासँग धान रोपाइँको काममा गएका थिए। घर फर्किनुअघि उनी घाघरा नदीमा हात–मुख धुन पुगेका बेला गोहीले अचानक आक्रमण गरी नदीभित्र तानेर लगेको थियो। घटनाको दृश्य क्यामेरामा समेत कैद भएको बताइएको छ।

बालकका काका विजय राज सिंह र स्थानीय बासिन्दाले तत्काल उद्धारको प्रयास गरेका थिए। काकाले नदीमा हाम फालेर करिब सात मिनेटसम्म बालकलाई बचाउने प्रयास गरे पनि गोहीले उनलाई गहिरो पानीतर्फ तानेर लगेको जनाइएको छ।
घटनापछि स्थानीय, प्रहरी तथा सम्बन्धित निकायको सहयोगमा खोजी अभियान सञ्चालन गरिएको थियो। लामो खोजीपछि राति करिब १० बजे बालकको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वन अधिकारीका अनुसार शवको तल्लो भागमा गोहीको आक्रमणबाट क्षति पुगेको अवस्था थियो।
मृतक सुनिल कक्षा ६ मा अध्ययनरत थिए। उनका आमाबुबाको यसअघि नै निधन भइसकेको थियो र उनी तीन दिदीबहिनीका एक्ला भाइ रहेको जनाइएको छ।
स्थानीय प्रशासनले सरकारी राहत कार्यक्रमअन्तर्गत पीडित परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
