घटना

सर्पदंशबाट ९ वर्षीय बालकको मृत्यु, उपचारमा ढिलाइ भएको भन्दै परिवारको आक्रोश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीमा सर्पदंशका कारण ९ वर्षीय बालकको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालको उपचार सेवामाथि प्रश्न उठेको छ। परिवारले उपचारमा ढिलाइ र लापरबाही भएको आरोप लगाएपछि घटना विवादमा परेको हो।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१ निवासी ९ वर्षीय युवराज नेपाली रहेका छन्। उनका बुवा कृष्ण नेपालीका अनुसार सोमबार राति करिब १२ बजे शौचालय जाने क्रममा युवराजको दायाँ खुट्टामा सर्पले टोकेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई बडैपुर स्वास्थ्य केन्द्र लगिए पनि अवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएको थियो।

बिज्ञापन

परिवारको आरोपअनुसार अस्पताल पुगेपछि बालकको स्वास्थ्य अवस्था निरन्तर बिग्रँदै जाँदा पनि समयमै आवश्यक उपचार हुन सकेन। उपचारमा ढिलाइ भएको भन्दै आफन्तले अस्पतालभित्रको दृश्य मोबाइलमा कैद गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पतालको सेवा व्यवस्थामाथि व्यापक टिप्पणी हुन थालेको छ।

मृतकका बुवा कृष्ण नेपालीले बिरामीको अवस्था गम्भीर बन्दै जाँदा उपचारमा बेवास्ता भएको दाबी गरेका छन्। उनले भिडियो खिच्ने क्रममा परिवारका सदस्यमाथि हातपातसमेत भएको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले सर्पदंशपछि बालकको अवस्था गम्भीर बनेको र उपचारकै क्रममा मृत्यु भएको पुष्टि गरेका छन्।

उता, उपचारमा लापरबाही भएको आरोपबारे सेती प्रादेशिक अस्पतालको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। घटनापछि अस्पतालको उपचार सेवा र चिकित्सकीय व्यवस्थापनबारे निष्पक्ष छानबिन हुनुपर्ने माग परिवार तथा स्थानीयले गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।