अफगानिस्तानमा ६ वर्षीया बालिकासँग विवाह गराएको घटनाले विश्वभर आलोचना, मानवअधिकारकर्मी चिन्तित

एजेन्सी — अफगानिस्तानको हेलमन्द प्रान्तस्थित मार्जाह जिल्लामा एक ६ वर्षीया बालिकाको विवाह गराइएको घटनाले अन्तर्राष्ट्रिय स्तरमै तीव्र आलोचना निम्त्याएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् २०२५ मा ४५ वर्षीय एक पुरुषले ६ वर्षीया बालिकासँग विवाह गरेका थिए। ती पुरुषका यसअघि नै दुई जना श्रीमती रहेको र बालिकाका बुबाले आर्थिक लेनदेनका आधारमा छोरीको विवाह गराएको आरोप लगाइएको छ।

विवाहसँग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक विरोध सुरु भएको थियो। त्यसपछि तालिबान प्रशासनका स्थानीय अधिकारीहरूले हस्तक्षेप गर्दै बालिकालाई तत्काल श्रीमान्को घर नपठाउन निर्देशन दिएका थिए।
रिपोर्टहरूका अनुसार सम्बन्धित पुरुषलाई केही समय नियन्त्रणमा लिइए पनि उनीविरुद्ध कुनै औपचारिक कानुनी मुद्दा अघि बढाइएन। स्थानीय स्रोतहरूको दाबीअनुसार बालिका ९ वर्ष पुगेपछि मात्रै उनलाई श्रीमान्को घर पठाउन सकिने भनिएको थियो। यद्यपि, यसबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
घटनापछि मानवअधिकारसम्बन्धी विभिन्न संस्थाहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यसलाई बालअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै अफगानिस्तानमा बढ्दो बालविवाहप्रति चिन्ता व्यक्त गरेका छन्।
मानवअधिकारकर्मीहरूका अनुसार गरिबी, कमजोर कानुनी कार्यान्वयन, बालिकाहरूको शिक्षा र रोजगारीमा लगाइएका प्रतिबन्ध तथा बाल संरक्षणसम्बन्धी प्रभावकारी संयन्त्रको अभावका कारण यस्ता घटनाहरू दोहोरिने जोखिम रहेको छ।
अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार बाल विवाह बालअधिकारको गम्भीर उल्लङ्घन मानिन्छ। बालअधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूले यस्ता घटनाको प्रभावकारी रोकथाम, बालिकाको सुरक्षा र कानुनी संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
