सतगुरुको आदेश अनुसार सेवा गर्नु नै वास्तविक भक्ति : नरबहादुर बटाला

अत्तरिया, ९ साउन। सन्त निरंकारी सत्संग भवन, अत्तरियामा शनिबार आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रीय सेवादल संचालक नरबहादुर बटालाले सतगुरुको आदेश अनुसार गरिने सेवा नै वास्तविक भक्ति भएको बताउनुभएको छ।

साध–संगतलाई सम्बोधन गर्दै उहाँले सतगुरुको आदेशबिना मनमर्जीले गरिएको सेवा स्वीकार्य नहुने उल्लेख गर्नुभयो। आदेश अनुसार गरिएको सेवाले आत्मसन्तुष्टि प्रदान गर्ने भन्दै उहाँले सेवा, सत्संग र सुमिरनलाई भक्ति जीवनका प्रमुख आधारका रूपमा व्याख्या गर्नुभयो।

बटालाका अनुसार सत्संगले मनको भ्रम हटाउँछ, सेवाले मनलाई शुद्ध र स्वस्थ बनाउँछ भने सुमिरनले मनलाई निरन्तर निराकार परमात्मासँग जोडिराख्छ। यी तीनै माध्यमबाट मानिसले सतगुरुको इच्छा अनुसार जीवनयापन गर्न सक्ने उहाँको भनाइ थियो।


उहाँले निराकार परमात्माको कुनै आकार नहुने, सम्पूर्ण विश्वमा व्याप्त र अपरिवर्तनीय रहेको उल्लेख गर्दै ब्रह्मज्ञान प्राप्त भएपछि मात्र वास्तविक निराकार परमात्माको दर्शन गर्न सकिने बताउनुभयो। सतगुरुले नै मानवलाई निराकार परमात्माको साक्षात्कार गराउने भएकाले उहाँ सत्यको मार्गदर्शक भएको धारणा पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा अत्तरियाका सेवादल सञ्चालक करणसिंह ओड, अत्तरिया सत्संग भवनका मुखी दीपक सिंह, इन्द्रसिंह, प्रकाश भण्डारी, सङ्गीता बोगटी, ममता, दीपमाला, विपना, सञ्जु, दिलबहादुर, चन्द्रसिंह, काजल, सरिता, सरस्वती, प्रथम, प्रीति र आकृतिलगायतले भजन तथा प्रवचनमार्फत आध्यात्मिक भाव प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिवराज कडाराले गर्नुभएको थियो।
सत्संग सम्पन्न भएपछि क्षेत्रीय सेवादल संचालक नरबहादुर बटालाले अत्तरियाका स्थानीय सेवादलका जवानहरुलाई सामान्य प्रशिक्षण प्रदान गर्नुका साथै उनीहरूको कार्यसम्पादनको निरीक्षण र समीक्षा गर्नुभएको थियो।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.