भाइरल बनेका रोल्पाका तीन बालबालिकाको भविष्य सुरक्षित, स्नातकसम्म निःशुल्क अध्ययनको व्यवस्था

रोल्पा, ९ साउन । रङ्गीचङ्गी रेनकोट ओढेर वर्षाको बीचमा उकालो बाटो हुँदै आफ्नै सुरमा विद्यालय जाँदै गरेका रोल्पाका तीन बालबालिकाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूको शैक्षिक भविष्य सुरक्षित भएको छ।
रुन्टीगढी गाउँपालिकाका सियाँ र दुई जना मनजीतको विद्यालय जाने भिडियो टिकटक र फेसबुकमा लाखौँले हेरेका थिए। भिडियोमा उनीहरूको बालसुलभ मुस्कान, पढाइप्रतिको उत्साह र कठिन भूगोलबीच विद्यालय पुग्ने दैनिकीले धेरैको मन छोएको थियो।

सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि उनीहरू अध्ययनरत स्थानीय बोर्डिङ विद्यालयले कक्षा ६ सम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ। त्यसपछि स्नातक (ब्याचलर्स) तहसम्मको सम्पूर्ण शैक्षिक खर्च रुन्टीगढी गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको छ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रिन्सिपल स्वयं बालबालिकाको घर पुगेर उनीहरूका आमासँग भेटवार्ता गरेका थिए। सो अवसरमा बालबालिकाको पढाइ कुनै पनि आर्थिक अभावका कारण नरोकिने गरी निःशुल्क अध्ययनको व्यवस्था गर्ने सहमति भएको जनाइएको छ।
गाउँपालिका अध्यक्षले प्रतिभाशाली तथा अध्ययनप्रति उत्साही बालबालिकालाई आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नदिने नीति अनुरूप यो निर्णय गरिएको बताउनुभयो। उहाँले अन्य बालबालिकालाई पनि शिक्षाप्रति प्रेरित गर्ने उद्देश्यले यस्तो पहल गरिएको उल्लेख गर्नुभयो।
विद्यालयका प्रिन्सिपलले पनि ती बालबालिकाको लगनशीलता र सिकाइप्रतिको उत्साहले विद्यालय परिवारलाई प्रभावित पारेको भन्दै कक्षा ६ सम्मको सम्पूर्ण अध्ययन निःशुल्क गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामाजिक सञ्जालमा भाइरल बनेको एउटा छोटो भिडियोले तीन बालबालिकाको मात्र होइन, उनीहरूको परिवारको भविष्यप्रति पनि नयाँ आशा जगाएको भन्दै स्थानीयवासीले गाउँपालिका र विद्यालयको निर्णयको प्रशंसा गरेका छन्।
कठिन भौगोलिक अवस्था र सीमित आर्थिक स्रोतका बाबजुद शिक्षाप्रतिको उनीहरूको दृढ इच्छाशक्तिले अहिले धेरैका लागि प्रेरणाको उदाहरण बनेको छ। अब उनीहरूले आर्थिक चिन्ताबिना आफ्नो अध्ययनलाई निरन्तरता दिन पाउने भएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
