बैतडीमा मलामीको अभाव कि जातीय दूरी? शव बाढीले खोलामा पुर्यायो

बैतडीको पाटन नगरपालिका–५ मा एक वृद्ध महिलाको शव अन्त्येष्टिसमेत हुन नसकेर खोलामा गाड्नुपरेको र केही दिनपछि बाढीले बगाएर अर्को स्थानमा पुर्याएको घटनाले स्थानीय समाजमा अझै विद्यमान जातीय तथा उपजातीय विभाजनलाई उजागर गरेको छ।
स्याडीखोलामा शनिबार बेवारिसे अवस्थामा फेला परेको शव सोही वडाको सिमपानी निवासी ६२ वर्षीया लालमती कोलीको भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार लालमतीको साउन ५ गते घरमै मृत्यु भएको थियो। अन्त्येष्टिका लागि शव घाटसम्म पुर्याइए पनि आवश्यक जनशक्ति अभावका कारण शव दाहसंस्कार गर्न नसकिएको थियो।

‘चार जना मात्रै थियौं’
मृतकका आफन्त नरेश कोलीका अनुसार गाउँमा कोली समुदायका ८–९ घरधुरी मात्रै छन्। अधिकांश पुरुष रोजगारीका लागि भारतमा रहेकाले शव बोक्न चार जना मात्रै उपलब्ध भएका थिए।
“शव बोक्ने हामी चार जना मात्रै थियौं। दाउरा जुटाउने, चिता बनाउने र अन्त्येष्टि सम्पन्न गर्ने जनशक्ति नै पुगेन। त्यसैले सामान्य दागबत्ती दिएर शव गाड्नुपर्यो,” उनले भने।
उनका अनुसार केही दिनपछि परेको वर्षाले आएको बाढीले गाडिएको शव बगाएर स्याडीखोलासम्म ल्याएको हुनसक्ने अनुमान गरिएको छ।
अझै जीवित सामाजिक दूरी
घटनाको अर्को महत्वपूर्ण पक्ष स्थानीय सामाजिक सम्बन्धसँग जोडिएको छ। नरेश कोलीका अनुसार गाउँ तथा आसपासका अन्य समुदायका मानिसहरू एकअर्काको मलामी जाने चलन छैन।
उनले भने, “हामी उनीहरूको मलामी जाँदैनौं, उनीहरू पनि हाम्रोमा आउँदैनन्। पहिलेदेखि यही चलन चल्दै आएको छ।”
स्थानीय क्षेत्रमा दलित तथा गैरदलित दुवै समुदायको बसोबास भए पनि अन्त्येष्टि जस्ता सामाजिक कार्यमा परस्पर सहयोग गर्ने संस्कार कमजोर रहेको पाटन–५ का वडा अध्यक्ष फुनि सिंह बोहराले पनि स्वीकार गरे।
प्रहरीले पुनः व्यवस्थापन गर्यो
प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको शव पुनः खोलाकै किनारमा व्यवस्थापन गरी गाडिएको छ।
घटनाले उठाएका प्रश्न
यो घटना एउटा परिवारको व्यक्तिगत पीडाभन्दा धेरै ठूलो सामाजिक सन्देश बोकेको देखिन्छ। आधुनिक समाज र समानताको चर्चा भइरहेका बेला अझै पनि केही बस्तीमा जातीय तथा उपजातीय सीमारेखाले मानवीय सहयोगसमेत प्रभावित गरिरहेको संकेत यस घटनाले दिएको छ।
अन्त्येष्टि जस्तो मानवीय संस्कारसमेत पर्याप्त सहयोग नपाएर एउटा शव गाड्नुपर्ने र त्यसपछि बाढीले बगाएर खोलामा ल्याइपुर्याउने अवस्थाले सामाजिक एकता, मानवीय संवेदना र समुदायबीचको सहकार्यबारे गम्भीर बहस आवश्यक रहेको देखाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
