राष्ट्रिय समाचार

नेपाल–भारत सीमामा तेस्रो देशका नागरिकमाथि विशेष निगरानी, ६ नाकामा ‘बोर्डर इन्टरयाक्शन टीम’ परिचालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १५ साउन । नेपाल–भारत सीमा क्षेत्रमा तेस्रो देशका नागरिकको अवैध आवतजावत रोक्न सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षामा निगरानी थप कडा बनाएको छ। यसअन्तर्गत यसै सातादेखि नेपाल–भारत सीमाका विभिन्न ६ वटा नाकामा ‘बोर्डर इन्टरयाक्शन टीम’ (बीआईटी) परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ताका अनुसार उक्त टोलीले सीमावर्ती क्षेत्रमा हुने गतिविधिको निगरानी गर्नुका साथै तेस्रो देशका नागरिकको सम्भावित अवैध प्रवेश नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

यसअघि राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले रोहिङ्ज्या, पाकिस्तानी तथा सोमालियाली शरणार्थीका केही गतिविधिले सुरक्षा संवेदनशीलता बढाएको बताएका थिए।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार सीमा क्षेत्रमा आवश्यक स्थानमा परिचयपत्र जाँच गर्ने, प्रविधिमा आधारित निगरानी प्रणाली प्रयोग गर्ने तथा सुराकीका आधारमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउने काम भइरहेको छ। नेपाल प्रहरीले विभिन्न सुरक्षा तथा सरकारी निकायसँग समन्वय गरेर निगरानी प्रणालीलाई सुदृढ बनाइएको जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा नियमित गस्तीका साथै भारतीय समकक्षी सुरक्षा निकायसँग पनि समन्वय गर्दै आएको छ। एपीएफका अनुसार गत आर्थिक वर्षमा सीमा नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने तेस्रो देशका २० जना नागरिकलाई पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाइएको थियो।

नेपाल र भारतबीच खुला सीमा रहेकाले पछिल्ला वर्षहरूमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान, संयुक्त समन्वय र निगरानीका गतिविधि सञ्चालन हुँदै आएका छन्। अधिकारीहरूका अनुसार विशेष गरी तराईका केही जिल्लामा देखिएका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा व्यवस्थापनमा थप सतर्कता अपनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।