पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीमध्ये पुरबहादुर गुरुङको पहिचान, चार जनाको शव फेला

काठमाडौं , १५ साउन । पाकिस्तानको काराकोरम क्षेत्रमा हिमपहिरोमा परेर बेपत्ता भएका नेपाली पर्वतारोहीमध्ये एक जनाको पहिचान खुलेको छ। पाकिस्तानी प्रहरीका अनुसार फेला परेका शवमध्ये एक जना नेपालका पुरबहादुर गुरुङ रहेका छन्।

चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को नेतृत्वमा रहेको उक्त आरोहण टोलीमा पुरबहादुर गुरुङ, नवाङ थिन्डु शेर्पा, निमा शेर्पा र किली पेम्बा शेर्पा सहभागी थिए।

पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार हालसम्म घटनास्थलबाट चार जनाको शव फेला परेको छ। यद्यपि, टोलीका अन्य सदस्यहरूको अवस्था अझै खुल्न नसकेको र उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

घटनापछि उद्धार तथा खोजी टोलीले प्रतिकूल मौसम र दुर्गम भौगोलिक अवस्थाका बीच खोजी अभियान सञ्चालन गरिरहेको छ। मौसम अनुकूल हुनासाथ खोजी कार्यलाई थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन्।
यो घटनाले नेपाली पर्वतारोहण क्षेत्रमा गहिरो शोक छाएको छ। पर्वतारोहणसँग सम्बन्धित निकाय तथा परिवारजनले बेपत्ता रहेका अन्य सदस्यको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त हुने अपेक्षा गरेका छन्।
पाकिस्तानी प्रहरीले घटनाबारे थप अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ।


