घटना

लाइसेन्सविहीन चालकको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मालाखेती, १५ साउन । कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–४ स्थित द ग्रीन स्टार इङ्ग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत आरभ बोहराको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराका अनुसार आरभको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो।

आरभलाई मंगलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकलका चालक २६ वर्षीय सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार दुर्घटनाका बेला चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत थिएन।

घटनापछि बालकका बुवा दिलीप बोहराले विद्यालय प्रशासनमाथि लापरवाही गरेको आरोप लगाएका छन्। उनका अनुसार विद्यालयको नियमित बिदा दिउँसो १२ बजे हुने भए पनि आरभलाई साढे ११ बजेतिर नै विद्यालयबाट बाहिर पठाइएको थियो। बर्खे बिदाको समयमा पनि विद्यालय सञ्चालन गरिएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

यता विद्यालय प्रशासनले भने आरोप अस्वीकार गरेको छ। विद्यालयका अनुसार आरभलाई छिमेकी विद्यार्थीकी हजुरआमासँगै घर पठाइएको थियो र विद्यालयको तर्फबाट कुनै लापरवाही नभएको दाबी गरिएको छ।

प्रहरीले दुर्घटनाको कारण, चालकको लापरवाही तथा विद्यालयमाथि लगाइएका आरोपबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।