कृषि

टीकापुर–५ का किसानको हातमा किसान परिचयपत्र, अब अनुदान लिन सहज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर–५ मा किसान परिचयपत्र वितरण, अनुदान र मल प्राप्त गर्न सहज हुने अपेक्षा

टीकापुर, १५ साउन । कैलालीको टीकापुर नगरपालिका–५ ले वडाभित्रका किसानलाई किसान परिचयपत्र (फार्मर आईडी कार्ड) वितरण गरेको छ। वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष बलबिर थारुले किसानलाई परिचयपत्र हस्तान्तरण गरेका हुन्।

वडा कार्यालयका अनुसार किसानलाई सूचीकृत गर्दै परिचयपत्र वितरण गरिएको हो। परिचयपत्र प्राप्त गरेपछि किसानहरूले सरकारी सेवा तथा कृषि अनुदान प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी एक किसानले किसान परिचयपत्र पाएपछि निकै खुसी लागेको बताए। उनका अनुसार अब कृषि क्षेत्रका विभिन्न अनुदान तथा सरकारी कार्यक्रमको लाभ लिन आवश्यक कागजात जुटाउन सहज हुनेछ। विगतमा हरेक पटक विभिन्न प्रमाणपत्र र तिनका प्रतिलिपि तयार गर्नुपर्ने, त्यसमा अतिरिक्त समय र खर्च लाग्ने गरेको भए पनि परिचयपत्रले ती झन्झट कम गर्ने विश्वास उनले व्यक्त गरे।

यस्तै, डोङ्गपुरका अर्का एक किसानले किसान परिचयपत्र वितरण कार्य अझै पहिले नै सुरु हुनुपर्ने बताए। ढिलै भए पनि कार्यक्रम सञ्चालन गरेर किसानको हितमा काम गरेको भन्दै उनले वडा कार्यालय र वडा अध्यक्षप्रति धन्यवाद व्यक्त गरे।

वडा कार्यालयले किसानलाई सूचीकृत गरी परिचयपत्र वितरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, साल्ट ट्रेडिङ कर्पोरेसनबाट प्राप्त सूचनाअनुसार सबै स्थानीय तहमा किसान परिचयपत्र अनिवार्य बनाउने प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिइएको छ।

वडा कार्यालयले किसान परिचयपत्र नभएका किसानलाई आवश्यक प्रक्रिया पूरा गरी परिचयपत्र बनाउन आग्रह गरेको छ। परिचयपत्र नहुँदा भविष्यमा रासायनिक मल वितरण तथा अन्य कृषि सेवाको पहुँचमा असहजता हुन सक्ने भएकाले समयमै परिचयपत्र बनाउन किसानलाई अनुरोध गरिएको छ।

स्थानीय तहले किसानको अभिलेखीकरणलाई व्यवस्थित बनाउने र कृषि क्षेत्रका सेवा तथा सुविधा लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले किसान परिचयपत्र वितरण अभियान सञ्चालन गरेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।