टीकापुरमा भारी वर्षाको चेतावनी, बाढी र डुबानको जोखिम बढ्ने

टीकापुरर, ९ असोज । असोज ९ गते अर्थात आजदेखि १२ गतेसम्म नेपालमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान भइरहेका बेला सुदूरपश्चिम प्रदेशमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडलले केही स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने संकेत गरेका छन्। तीमध्ये कतिपय मोडलले अधिकतम ७४१ मिलिमिटरसम्म वर्षाको सम्भावना देखाएका छन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडलको अध्ययन गर्दा असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका अनुसार मोडलअनुसार वर्षाको मात्रा र प्रभावित क्षेत्र फरक–फरक देखिए पनि ४०० मिलिमिटरभन्दा बढी वर्षाको संकेत देखिनु गम्भीर जोखिमको विषय हो। उनले यस्तो सूचना त्रास फैलाउन नभई सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सार्वजनिक गरिएको बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रक्षेपणअनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा पनि ठूलो वर्षाको सम्भावना देखाइएको छ। टीकापुरमा ७४१.९ मिलिमिटर, धनगढीमा ४२०.७ मिलिमिटर, भीमदत्तमा ३७७.४ मिलिमिटर, अमरगढीमा २०८.४ मिलिमिटर र चैनपुरमा १९७.५ मिलिमिटरसम्म वर्षाको प्रक्षेपण गरिएको उल्लेख छ। यद्यपि यी संख्या निश्चित रूपमा पर्ने वर्षा नभई मौसम मोडलका अनुमान हुन् र अन्तिम वर्षाको मात्रा तथा स्थानमा परिवर्तन हुनसक्ने मौसमविद्हरूले बताएका छन्।

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा नेपालमा मनसुनी गतिविधि बढ्न सक्ने मौसमविद्हरूको आकलन छ। नेपालमा पश्चिमी वायुको प्रभावसमेत रहेकाले दुई मौसमी प्रणालीको अन्तरक्रियाले वर्षा थप सक्रिय हुनसक्ने बताइएको छ। विशेषगरी सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षा हुनसक्ने प्रारम्भिक संकेत देखिएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै तराई क्षेत्रमा डुबान र पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका स्थानीय तह र सुरक्षा निकायले पूर्वतयारी तीव्र बनाएका छन्। जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाह र माइकिङसमेत भइरहेको छ। टीकापुर नगरपालिकाले समेत वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै असोज ९ गते नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ।
मौसमविद्हरूले भने पूर्वानुमानलाई निश्चित घटनाका रूपमा नभई सम्भावित जोखिमको संकेतका रूपमा लिएर आवश्यक तयारी गर्न आग्रह गरेका छन्। विशेषगरी नदी तथा खोला आसपास र डुबान तथा पहिरोको जोखिममा रहेका बस्तीमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र जोखिम बढे सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।


