असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने

काठमाडौं , ५ असोज । मनसुन बाहिरिने समय नजिकिँदै गर्दा नेपालमा फेरि भारी वर्षाको जोखिम देखिएको छ। बंगालको खाडी र आसपास विकसित हुँदै गरेको मौसमी प्रणाली तथा पश्चिमी वायुको प्रभावले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमन सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ। उक्त प्रणालीबाट भित्रिने जलवाष्प र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया भए वर्षा अझ बढ्न सक्ने मौसमविद्हरूको आकलन छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडलले असामान्य रूपमा धेरै वर्षाको संकेत गरेको बताएका छन्। उनका अनुसार केही मोडलले ४०० मिलिमिटरभन्दा बढी वर्षा देखाएका छन्। तर वर्षाको मात्रा र स्थानबारे अहिले नै यकिन गर्न नसकिने उनले बताएका छन्।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार प्रारम्भिक ट्र्याकले सुदूरपश्चिम र मध्य नेपालमा अत्यधिक वर्षाको सम्भावना देखाएको छ। चक्रवात नै विकसित भए पनि नभए पनि बंगालको खाडीबाट आउने मौसमी प्रणालीले नेपालमा वर्षा गराउन सक्ने भएकाले मौसमी सूचना पछ्याउन उनले आग्रह गरेका छन्।
यो वर्ष मनसुनको प्रभाव असोजसम्मै सक्रिय देखिएको छ। सामान्यतया नेपालबाट अक्टोबर २ आसपास मनसुन बाहिरिने गर्छ। तर पछिल्ला केही वर्षमा मनसुन बाहिरिने समय आसपास भारी वर्षा दोहोरिन थालेको मौसमविद्हरू बताउँछन्।
अघिल्लो महिना भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा फेरि लामो वर्षाको पूर्वानुमान आएको हो। निरन्तर वर्षाले पहिरो, डुबान र नदीमा पानीको बहाव बढाउन सक्ने भएकाले जोखिमयुक्त बस्तीमा पूर्वतयारी र सतर्कता आवश्यक देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले मौसम प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। विभागका अनुसार वर्षाको अवस्था र जोखिम क्षेत्रबारे थप स्पष्ट विवरणसहित विशेष सूचना जारी गरिनेछ।

