अर्थ

भजनीको पृथ्वीपुर छोटी भन्सार यथास्थानमै स्तरोन्नति गरी सञ्चालन गर्न माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भजनी, २४ साउन । कैलालीको भजनी नगरपालिका–५ स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको तयारीप्रति स्थानीय जनप्रतिनिधिले आपत्ति जनाउँदै उक्त कार्यालयलाई स्तरोन्नतिसहित यथास्थानमै पुनः सञ्चालन गर्न माग गरेका छन्।

भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त टोलीले काठमाडौं पुगेर भन्सार विभागका महानिर्देशक यमलाल भुसाललाई ज्ञापनपत्र बुझाउँदै पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई बन्द नगरी थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

जनप्रतिनिधिहरूले सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि, स्थानीय नागरिकको आवागमन तथा व्यापारिक आवश्यकतालाई ध्यानमा राख्दै छोटी भन्सार कार्यालयलाई यथास्थानमै कायम राख्नुपर्ने बताएका छन्। कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रका नागरिक, किसान, व्यापारी तथा उद्योगीले भन्सारसम्बन्धी सेवा लिन टाढा जानुपर्ने अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ।

जनप्रतिनिधिहरूका अनुसार पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालनसँगै स्तरोन्नति गर्न सके सीमावर्ती क्षेत्रमा हुने वैध व्यापारलाई प्रोत्साहन गर्न सकिनेछ। यसबाट व्यापारिक गतिविधि व्यवस्थित हुनुका साथै राज्यको राजस्व संकलनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

त्यस्तै, भन्सार कार्यालय सञ्चालनमा रहँदा स्थानीय किसान तथा व्यवसायीले आफ्ना उत्पादन तथा व्यापारिक वस्तुको कारोबार गर्न सहज हुने र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने जनप्रतिनिधिहरूले बताएका छन्।

चारवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पृथ्वीपुर छोटी भन्सारलाई केवल राजस्व संकलन गर्ने कार्यालयका रूपमा मात्र नभई सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि र स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संरचनाका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले कार्यालयलाई बन्द गर्नुको सट्टा आवश्यक पूर्वाधार, जनशक्ति र प्रविधिसहित स्तरोन्नति गरी प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। पृथ्वीपुर छोटी भन्सार पुनः सञ्चालन भए सीमावर्ती क्षेत्रका नागरिकले सहज सेवा पाउनुका साथै वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्र विस्तारमा समेत योगदान पुग्ने उनीहरूको विश्वास छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।