सन्त निरंकारी मण्डल सल्यानद्वारा सडक मर्मत, वडा अध्यक्ष बुढाले गरे सेवाभावको प्रशंसा

सल्यान, २० भाद्र । सन्त निरंकारी मण्डल नेपाल शाखा सिङ्गारीकोट, सल्यानको पहलमा शङ्खमूल–झिम्पे–जयचौर सडकखण्डअन्तर्गत फेदीखोला कैँची मोडदेखि सिङ्गारीकोटसम्मको सडक मर्मत कार्य सुरु गरिएको छ।
सन्त निरंकारी मण्डलका सेवादल तथा साध–संगतको सक्रिय सहभागितामा हिजोदेखि सडक मर्मत कार्य सुरु गरिएको हो। स्थानीयवासीको आवागमनलाई सहज र सुरक्षित बनाउने उद्देश्यले सेवाभावसहित सडक मर्मत तथा सुधारको काम अघि बढाइएको जनाइएको छ।
सडक मर्मत कार्यमा सम्बन्धित वडाका अध्यक्ष निमबहादुर बुढाको समेत उपस्थिति रहेको थियो। उहाँले सन्त निरंकारी मण्डलका सेवादल तथा साध–संगतले आफ्नो गाउँठाउँको सडक सुधारका लागि हातेमालो गर्दै अघि बढेकोमा प्रशंसा गर्नुभयो।
वडा अध्यक्ष बुढाले आफूले पनि समय–समयमा ‘जीवन दान, रक्तदान’ भन्ने भावनाका साथ रक्तदानजस्तो जीवनोपयोगी तथा मानवीय सेवामा सहभागी हुँदै आएको बताउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले आध्यात्मिक साधनासँगै सामाजिक सेवामा समेत सन्त निरंकारी मण्डलका सन्तभक्तहरू सक्रिय हुनु प्रशंसनीय कार्य भएको बताउनुभयो। आफ्नै गाउँठाउँका बाटाघाटा सुधार तथा समुदायको हितमा स्वयं श्रमदान गर्दै अघि बढ्नुले सामाजिक उत्तरदायित्व र सेवाभावको राम्रो उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो।
सडक मर्मतका क्रममा सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, बिग्रिएका तथा जोखिमयुक्त स्थानहरू सुधार गर्ने लगायतका काम भइरहेको छ। उक्त कार्यमा सेवादल तथा साध–संगतका सदस्यहरू उत्साहपूर्वक सहभागी भएका छन्।
सडक मर्मत कार्यलाई सम्पन्न गर्न आइतबार पनि सेवा सञ्चालन गरिने जनाइएको छ। बाँकी रहेको काम पूरा गर्दै स्थानीयवासीको आवागमनलाई थप सहज बनाउने लक्ष्य रहेको सन्त निरंकारी मण्डलले जनाएको छ।
सन्त निरंकारी मण्डलले आध्यात्मिक चेतनासँगै मानव सेवा, समाज सेवा र जनकल्याणलाई प्राथमिकता दिँदै विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। सडक मर्मत कार्यले पनि ‘सेवा नै जीवनको सार हो’ भन्ने भावनालाई व्यवहारमै उतारेको सहभागीहरूले बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
