सतगुरुको आशीर्वाद र सन्त–भक्तको समर्पणले आमभोजमा उभियो निरंकारी सत्संग भवन

कञ्चनपुर, २० भदौ । कञ्चनपुरको आमभोजमा नवनिर्मित निरंकारी सत्संग भवनमा सत्संगको विधिवत् शुभारम्भ गरिएको छ। नवनिर्मित भवनमा आयोजित विशेष सत्संग समारोहमा श्रद्धालु सन्त–भक्तहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सत्संगको विधिवत् शुभारम्भ गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलजीले सद्गुरुको कृपा र इच्छाबिना कुनै पनि सत्कार्य सम्भव नहुने बताउनुभयो। उहाँले तीन लोक र नौ खण्डमा सर्वोपरि सद्गुरुको स्थान रहेको उल्लेख गर्दै सद्गुरुको कृपा प्राप्त भएपछि असम्भवजस्तो देखिने कार्यसमेत सहज रूपमा सम्भव हुने बताउनुभयो।
उहाँले आध्यात्मिक ज्ञान मानव जीवनको भौतिक उन्नतिको समेत आधार र पूरक रहेको उल्लेख गर्दै ब्रह्मज्ञानको प्रकाशबाट नै मानवभित्र विवेक, विज्ञान र सृजनशीलताको विकास हुने बताउनुभयो। मानवबाट हुने प्रत्येक सत्कार्य सद्गुरुको प्रेरणा र कृपाकै परिणाम भएको उहाँको भनाइ थियो।

निराकार परमात्मा सर्वत्र व्याप्त रहेको उल्लेख गर्दै रावलजीले सद्गुरु मानवताको कल्याणका लागि जगतमा मार्गदर्शन प्रदान गर्ने बताउनुभयो। आमभोजमा नवनिर्मित सत्संग भवन तयार हुनु पनि सद्गुरुको इच्छा, कृपा र सन्त–भक्तहरूको सामूहिक सेवा, सहयोग तथा समर्पणको प्रतिफल भएको उहाँले बताउनुभयो।
भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सन्तप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले भवन निर्माणमा तन, मन, धन र सेवाभावले सहयोग गर्ने सम्पूर्ण सन्त–भक्त तथा दाताप्रति हृदयदेखि आभार व्यक्त गर्नुभयो। उहाँले यस भवनलाई केवल इँटा, ढुंगा र सिमेन्टबाट बनेको भौतिक संरचनाका रूपमा नभई प्रेम, भक्ति, सेवा, सत्संग र ब्रह्मज्ञानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सत्संगका क्रममा रावलजीले भगवान शिव र माता पार्वतीसँग सम्बन्धित पौराणिक प्रसंग प्रस्तुत गर्दै भौतिक सम्पत्ति, मोह र अहंकारको क्षणभंगुरतालाई स्पष्ट पार्नुभयो। सुनको लंकासँग सम्बन्धित प्रसंग उल्लेख गर्दै उहाँले मानिस “मेरो–मेरो” भन्ने भावमा फस्दै जाँदा काम, क्रोध, लोभ, मोह, अहंकार र वासनाजस्ता विकारले अन्ततः विनाशको बाटोमा पुर्याउने बताउनुभयो।


उहाँले सद्गुरु माताजीले मानव जीवनमा प्रेम, नम्रता, सद्भाव, धैर्य र सहनशीलताजस्ता अमूल्य गुण धारण गर्न प्रेरित गरिरहनुभएको उल्लेख गर्दै यी गुणलाई व्यवहारमा उतार्नु नै वास्तविक आध्यात्मिक साधना भएको बताउनुभयो। संसारमा शान्तिको अभाव बढिरहेको अवस्थामा मानवभित्र श्रद्धा, सद्भावना र समर्पणको भाव जागृत हुनुपर्ने उहाँको भनाइ थियो।
नेपालमा हालै आएको विनाशकारी बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको प्रसंग उल्लेख गर्दै रावलजीले विपद्को समयमा समेत मानवीय संवेदना कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। विपद्मा ज्यान गुमाएका व्यक्तिका शवबाट गरगहना निकाल्ने तथा भेटिएका धनसम्पत्ति लुट्नेजस्ता अमानवीय घटनाले मानव जीवनमा नैतिकता, करुणा र संवेदनशीलताको आवश्यकता अझ बढाएको उहाँले बताउनुभयो।

उहाँले मानिस जहाँसुकै रहे पनि सर्वव्यापी निराकार परमात्माको दृष्टिबाट कुनै पनि कर्म लुकेर नरहने बताउनुभयो। ८४ लाख योनिमध्ये सर्वश्रेष्ठ मानव जीवन प्राप्त गरे पनि मानिसले विवेक गुमाएर अमानवीय कर्म गर्दा पुनः कर्मको फेरोमा अल्झिने अवस्था सिर्जना हुने उहाँको भनाइ थियो।
“मानव भएर पनि जब मानिसभित्र मानवीयता हराउँछ, तब विवेकी प्राणी दानवीय प्रवृत्तिको शिकार बन्न पुग्छ,” उहाँले भन्नुभयो, “यस्तो कठिन अवस्थामा सद्गुरुले प्रदान गर्नुभएको ब्रह्मज्ञानले हामीलाई आफ्नो वास्तविक स्वरूप चिनाउँदै मानवताको मार्गमा अघि बढाइरहेको छ। यो सद्गुरुको हामीमाथिको महान् कृपा हो।”
मानव जीवनको समय अत्यन्त मूल्यवान् रहेको उल्लेख गर्दै रावलजीले समयलाई व्यर्थमा नफालेर आत्मज्ञान, सत्संग, सेवा र परोपकारमा सदुपयोग गर्नुपर्ने बताउनुभयो। मानव भएर जन्मिएको सार्थकता केवल आफ्नो सुख र स्वार्थमा नभई सम्पूर्ण जगत्को कल्याणको भावनामा निहित रहेको उहाँले स्पष्ट पार्नुभयो।

सत्संग समारोहमा अमृताजी, जगतजी, वीरबहादुरजी, मीनादेवीजी, प्रेम सोनीजी, मोतीसिंहजी, शोभाजी, नारायणजी, ओमप्रकाशजी, टेकराजजी, कविताजी, भक्तबहादुरजी, मानसिंहजी र लक्ष्मीदेवीजी लगायतका सन्त–भक्तहरूले भजन तथा प्रवचनमार्फत आफ्ना आध्यात्मिक भाव व्यक्त गर्नुभएको थियो।
त्यसैगरी सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव नरबहादुर बिकजी, केन्द्रीय सदस्य तथा ज्ञान प्रचारक देवराज रिमालजी, क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाजी लगायत मोतिरामजी, गुलाब औजीजी, धनञ्जयजी, दीपकजी र तेजबहादुर बोराजीले समेत भजन तथा प्रवचनमार्फत सत्संगमा आध्यात्मिक भाव प्रस्तुत गर्नुभएको थियो भनेकार्यक्रमको सञ्चालन दुर्गाजीले गर्नुभएको थियो।
नवनिर्मित सत्संग भवनमा विधिवत् रूपमा आरम्भ भएको सत्संगले आमभोज क्षेत्रका सन्त–भक्तहरूमा प्रेम, भक्ति, सेवा, समर्पण, सद्भाव र मानव कल्याणको भावलाई अझ गहिरो बनाउँदै आध्यात्मिक यात्राका लागि नयाँ ऊर्जा प्रदान गरेको छ। नवनिर्मित भवन अब सत्संग, ब्रह्मज्ञान, सेवा र मानवताको सन्देश प्रवाह गर्ने पवित्र केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.