बेलायतको विद्यार्थी भिसामा नेपालीलाई झट्का, ९२ प्रतिशत आवेदन अस्वीकृत

४ मंसिर । बेलायतमा उच्च शिक्षा अध्ययन गर्न जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई झट्का लागेको छ । विद्यार्थी भिसाका लागि अन्तर्वार्तामा बोलाइएका नेपालीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको विवरण सार्वजनिक भएको छ ।

सन् २०२६ मेदेखि अक्टोबरसम्म बेलायतले विभिन्न देशका ११ हजार ४१५ विद्यार्थीको भिसा अन्तर्वार्ता लिएको थियो । तीमध्ये ९ हजार ४३ जनाको आवेदन अस्वीकृत भएको जनाइएको छ । अन्तर्वार्तापछि भिसा अस्वीकृत हुने दरमा नेपाली विद्यार्थी सबैभन्दा अगाडि रहेको बताइएको छ ।
नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुनुमा अन्तर्वार्ताका क्रममा आफूले अध्ययन गर्न लागेको विश्वविद्यालय, कलेज तथा विषयबारे पर्याप्त जानकारी दिन नसक्नु प्रमुख कारण देखिएको छ । बेलायतमै अध्ययन गर्न चाहनुको उद्देश्य स्पष्ट पार्न नसक्नु र अध्ययन पूरा गरेपछि आफ्नो भावी योजनाबारे विश्वसनीय जवाफ दिन नसक्नु पनि अस्वीकृतिका कारण बनेका छन् ।
त्यस्तै, अंग्रेजी भाषामा कमजोर प्रस्तुति, अध्ययनका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने विषयमा स्पष्ट जानकारी दिन नसक्नु तथा आर्थिक स्रोतको पर्याप्त प्रमाण प्रस्तुत गर्न नसक्दा पनि विद्यार्थीहरू समस्यामा पर्ने गरेका छन् ।
बेलायतमा अध्ययन गर्ने सपना बोकेका नेपाली विद्यार्थीका लागि पछिल्लो विवरणले भिसा प्रक्रियालाई थप चुनौतीपूर्ण बनाएको छ । अध्ययनका लागि आवेदन दिनुअघि आफूले रोजेको विश्वविद्यालय, विषय, अध्ययनको उद्देश्य, भविष्यको योजना तथा आर्थिक स्रोतबारे पर्याप्त तयारी गर्नुपर्ने देखिएको छ ।
विशेषगरी भिसा अन्तर्वार्तालाई औपचारिकताका रूपमा मात्र नलिई आफ्नो अध्ययन योजना र उद्देश्य स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने गरी तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

