घटना

दिल्लीमा रुख चढेर पसलमा चोरी, चार नेपाली पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँदिल्ली, ४ मंसिर । भारतको राजधानी नयाँदिल्लीस्थित चाँदनी चोकको लेहेंगा बजारमा चोरी गरेको आरोपमा चार नेपाली नागरिक पक्राउ परेका छन् । उनीहरूमाथि पसलको पहिलो तलामा प्रवेश गरी १ लाख २७ हजार भारतीय रुपैयाँ नगद चोरी गरेको आरोप छ ।

लोक कल्याणकारी विज्ञापन

दिल्ली प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा ५१ वर्षीय शेरबहादुर, ३५ वर्षीय नरेन्द्र, ३५ वर्षीय ज्ञानेन्द्र उर्फ घिनबहादुर र ३२ वर्षीय भीमबहादुर छन् । उनीहरू लामो समयदेखि दिल्ली र हरियाणामा बस्दै आएको प्रहरीले जनाएको छ ।

गत नोभेम्बर ९ मा अनिलकुमार नामका व्यापारीले चाँदनी चोक रोडस्थित कटरा जञ्जुरको लेहेंगा बजारमा रहेको आफ्नो पसलमा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । पसलको सटर र ताल्चा फुटाएर नगद चोरी गरिएको उजुरीमा उल्लेख थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

प्रहरीका अनुसार अनुसन्धानका क्रममा आरोपितहरू रुख चढेर भवनको पहिलो तलामा पुगेका थिए । त्यहाँबाट पसलभित्र प्रवेश गरी नगद चोरी गरेको खुलेको हो ।

उत्तरी दिल्लीकी प्रहरी उपायुक्त निहारिका भट्टका अनुसार घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरिएको थियो । सीसीटीभी फुटेज र गोप्य सूचनाका आधारमा तीन जनालाई दिल्लीको छत्रपुर तथा अर्का एक जनालाई हरियाणाको गुरुग्रामबाट पक्राउ गरिएको हो । चोरीमा संलग्न भनिएका उनीहरूका एक साथी भने अझै फरार छन् ।

पक्राउ परेकाहरूको साथबाट चोरीमा प्रयोग गरिएका औजार, ८ हजार भारतीय रुपैयाँ नगद र एउटा लेहेंगा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा आरोपितहरूले लागुऔषध तथा मदिराको लत पूरा गर्न पैसा जुटाउने उद्देश्यले चोरी गरेको बताएका छन् । पक्राउ परेका ज्ञानेन्द्र उर्फ घिनबहादुर सन् २०११ देखि चोरीसम्बन्धी चार घटनामा संलग्न रहेको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ ।

घटनाबारे पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन