मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमन्त्री शेरबहादुर कुँवरसहित ६ जना पक्राउ

काठमाडौं, ३ कार्तिक । मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली तथा ठगी गरेको आरोपमा तत्कालीन श्रममन्त्री, मन्त्रालयका सचिवसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरी ठूलो रकम विदेश पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उक्त प्रकरणमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकमको गैरकानुनी कारोबार भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
सीआईबीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताको दायराभन्दा बाहिर गएर विदेशी मुद्रा अपचलन गराउने, श्रमिकलाई आर्थिक भार पर्ने गरी निर्णय गर्ने तथा संगठित समूहको लाभका लागि गैरकानुनी रूपमा रकम संकलन र मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोप उनीहरूमाथि छ । पदीय जिम्मेवारी र कानुनी दायित्व पूरा नगरी ठगीको कार्यलाई संरक्षण गरेको आरोपसमेत अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त प्रकरणमा ८३ लाख ७० हजार ४ सय ३९ अमेरिकी डलर ९२ सेन्ट र ३७ लाख १७ हजार ९ सय ८० पाउन्ड ८० पेन्स गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा संकलन तथा कारोबार भएको उल्लेख छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर (६०), पूर्वमन्त्री रामेश्वर राय यादव (६१), मन्त्रालयका तत्कालीन सचिव विनोद केसी (६४), रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुङ्गाना (५१) र राजिव पोखरेल (५३) तथा मन्त्रालयका तत्कालीन कानून अधिकृत निर्मला गुरुङ (४९) रहेका छन् ।
कुँवर अछामको चौरपाटी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा बस्दै आएका थिए । यादव सर्लाहीको चक्रघट्टा गाउँपालिका बेल्हीका हुन् । केसी ललितपुर महानगरपालिका–२३, ढुङ्गाना काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, पोखरेल ललितपुर महानगरपालिका–१५ तथा गुरुङ काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली निवासी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर मंसिर २ गते काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका सबैमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकरणमा संलग्नता पुष्टि भएमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।



You must be logged in to post a comment.