राष्ट्रिय समाचार

भारतीय सेनाध्यक्ष पाण्डेले हस्तान्तरण गरे नेपाली सेनालाई २२ करोड बढीकाे सैन्य सामग्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रूपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारी साधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

बिज्ञापन

सहयोगस्वरूप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।

सहयाेग हस्तान्तरणअघि भारतीय सेनाध्यक्ष जनरल पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए । सोमबार बिहान भेटमा दुई देशबीचको सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियाे ।

त्यसअघि सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए । प्रधानसेनापति  शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे ।

यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।