राजनीति

देशलाई निकास दिन सङ्कल्प यात्रा : अध्यक्ष ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुमपूर्व, मङ्सिर २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताउनुभएको छ । 

आज रुकुमपूर्व सिस्ने गाउँपालिका –६ रुकुमकोटमा एमाले रुकुमपूर्वले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अहिलेको सरकारका कारण देश असफलताको बाटोमा गइरहेको कारणले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म सङ्कल्प यात्राको अभियान गरेको अध्यक्ष ओलीले बताउनुभयो । 

बिज्ञापन

देश हरेक क्षेत्रबाट असफल भइरहेकाले देशलाई सही ढङ्गले निकास दिन मध्यपहाडी लोकमार्ग अन्तर्गतका जनसमुदायसँग राय, सुझाव सङ्कलन लिने काम भइरहेको अध्यक्ष ओलीले बताउनुभयो । देश असफलता तथा समस्यामा फसिरहेकाले समाधान गर्न जनतासँग एमालेले राय लिइरहेको उहाँको भनाइ छ । 

जनताबाट प्राप्त भएको रायअनुसार अभियान सम्पन्न भएपछि सरकारसँग संवादमार्फत देशलाई निकास दिनेतर्फ अघि बढाउने ओलीको प्रतिबद्धता छ । कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण लिनुपरेको अध्यक्ष ओलीले बताउनुभयो । 

देशको कर्मचारीलाई समेत ऋण लिएर तलब खुवाउनु भनेको सामान्य कुरा होइन, देशको आर्थिक अवस्था कति नाजुक छ भन्ने कुरा त्यसबाट थाहा हुने उहाँको भनाइ छ । यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्र सुधारमा ध्यान नदिएको उहाँले टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “अनुत्पादक क्षेत्रका लागि सरकारले ऋण लिइरहेको छ । त्यसलाई पूर्ति गर्न उत्पादन क्षेत्रमा लगानी गर्नेतर्फ सरकारको ध्यान छैन ।” सरकारको ध्यान सत्ता टिकाउने मात्र रहेको ओलीले टिप्पणी गर्नुभयो । वर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्ने उहाँको भनाइ छ । 

गठबन्धन दलका कारण देश अहिले निरन्तर आर्थिक रुपले ओरालोतर्फ गइरहेको ओलीको भनाइ छ । एमालेको नेतृत्वमा सरकार सञ्चालन भइरहँदा देशले विकासको लय पक्रेको उहाँले दाबी गर्नुभयो । अहिले फेरि समस्या आएको उहाँको बुझाइ छ । देश विकास नचाहनेहरू विदेशीसँग मिलेर एमाले नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।  

सरकारले देश राम्रोसँग चलाउन नसक्दा हाल युवाहरू विदेश पलायन भइरहेको उहाँले बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्न सकेको भए नेपाली युवाहरु विदेश जाने थिएनन् उहाँको भनाइ छ । 

आफ्नो देशको विकास आफैँ गर्नुपर्छ, त्यसका लागि आमयुवा देश विकासको भावना लिई नेपालमै सानो ठूलो केही नमानी काम गर्नुपर्छ उहाँले भन्नुभयो, “हालको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था छ । अन्य विकसित देशवासीले आफैँ आफ्नो देशको विकास गरेका हुन् । युवा निराश भएर देशबाट पलायन हुने होइन, नेपालको समृद्धिका निम्ति काम गर्नुपर्छ ।”

हाम्रो देश विकास गर्न सजिलो र धेरै सम्भावना रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारले असजिलो बनाएकै छ । स्थानीय नागरिकको समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि हामी सङ्कल्प यात्रामा लागेका छौं, अहिले तत्काल गर्नुपर्ने काम अहिले नै गर्छौं, बाँकी काम गर्दै जान्छौं ।”

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।