बैतडीमा भिरभानको हत्या भागरथीले किन गरिन् ?

बैतडी । ३ दिनदेखि बेपत्ता बैतडी पाटन नगरपालिका–६ का ५१ बर्षीय बिरभान सिंह बिष्टको शव पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको छ । शव प्लाष्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो सवा २ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक गिरीले जानकारी दिए ।
बिष्ट असार १ गते शनिबारदेखि सम्पर्क बिहिन रहेका थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ बर्षिय महिला भागरथी बिष्टबिरुद्ध निवेदन दिएका थिए । निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । उनले चिरपटले हानेर हत्या गरेको प्रहरीमा बयान दिएकी छन् ।

हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयानसमेत दिएकी प्रहरीले जनाएको छ । रातिको समयमा भागरथीको घरमा आएर अपशब्दहरु प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको बयान दिएको डिएसपी गिरीले बताए । मृतक पुरुष र भागरथीको घरमा पहिल्यैदेखि आउजाउ रहेको गाउँलेले बताएका छन् ।
एकल महिलासमेत रहेकी भागरथी सहस्त्रलिङ्ग प्रविकी राहत शिक्षिका हुन् । उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो ।
भागरथीले असार १ गते आफ्नै घरमा बिरभानको हत्या गरेको स्थानीयबासीको भनाई छ । हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएको र आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।
सोमबार भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो । हत्याको कारण भने अझै खुलेको छैन् । स्थानीयबासीले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार ती पुरुषको हत्यामा अन्य दुई जना सहयोग भएको समेत पाइएको छ । १७ र १८ बर्षका सहयोगी राजेन्द्र भट्टराई र किसोर भट्टराईलाई डडेल्धुराको भात्काडाँबाट पक्राउ गरिएको छ । भागरथीले व्यवस्थापनका लागि सहयोगीलाई २०–३० हजार रुपैयाँ समेत दिएको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
