रेशमले श्रीमतीलाई हटाएर बुवालाई बनाए पार्टी अध्यक्ष

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष सहभागी भएको राष्ट्रिय भेलाले पार्टी अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेको छ।

काठमाडौंमा भएको भेलाले चौधरीलाई आज अध्यक्ष चयन गरेको हो। बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्तबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर रेशमका बुवा हुन्।

भेलाले बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्षसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो। पार्टी अध्यक्षबाट हटाइएकी रञ्जिता रेशमकी श्रीमती हुन्।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले भेलाले सहमतिका आधारमा अध्यक्षसहित पदाधिकारीसमेत चयन गरेको जानकारी दिए। ‘अध्यक्षलाई पार्टीबाट हटाउने विषय हिजो नै टुंगिएको थियो। आज अध्यक्षसहित पदाधिकारी चयन गरेका छौँ,’ उनले भने, ‘नागरिक उन्मुक्ति अब नयाँ गतिमा अगाडि बढ्छ।’
रञ्जिताले बहुमत केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि बेवास्ता गरेको, विधानविपरीत काम गरेको, सल्लाहविनै कार्यवाहक अध्यक्ष तोकेको, भ्रष्टाचारमा मुछिएकोलगायत कारण देखाएर अध्यक्षबाट हटाइएको हो। ‘राष्ट्रिय भेलामै आएर यी विषयमा स्पष्ट पार्न आग्रह गर्दा पनि उहाँ आउनुभएन। भेलाले अध्यक्षलाई हटाएर नयाँ ढंगले जाने निर्णय गरेको हो,’ डगौराले भने।
रञ्जिताले भने विधानअनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षमा निहित रहेकाले उक्त भेला नै अवैधानिक भएको दाबी गरेकी छिन्। उनले आजै संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीत काम गरेको आरोपमा अध्यक्षको हैसियतले स्पष्टीकरण सोधेकी छिन्।


