सपनामा पनि नसोचेको भयो, दोषीलाई एक–एक गरी कारबाही होस् : मीनबहादुर गुरुङ

काठमाडौं । जेन–जी आन्दोलनको निशानामा परेको भाटभटेनी सुपरमार्केटमा १५ अर्बभन्दा बढीको क्षति भएको छ । भदौ २४ गते भाटभटेनीका अधिकांश ब्रान्चमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
देशभरि रहेका २७ वटा स्टोरहरु सबैमा लुटपाट भएको सञ्चालक मीनबहादुर गुरुङले बताए । गुरुङका अनुसार आगलागीबाट ६ वटा स्टोरहरु मात्र जोगिएका छन् । आगजनी नभएका स्टोरमा पनि लुटपाट भएको थियो । १२ वटा स्टोरमा लुटपाट भएको थियो ।

आन्दोलनका क्रममा भएको तोडफोड, चोरी र आगजनीको घटनामाथि छानविन गरेर राज्यले लगानीको सुरक्षा गर्नुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने गुरुङको भनाइ छ । यो क्षति कल्पना नै नगरिएको र सपनामा नसोचेको कुरा भएको उनले बताए ।
उनले भने, ‘तोडफोड, चोरी र आगजनीको घटनाको विषयमा कारबाही नभए मनोबल गिर्छ । मसित बोल्न केही शब्द बाँकी छैन । यत्ति भन्न चाहन्छु कि तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको दायरामा ल्याइयोस । आज मिनबहादुरलाई गरे, भोलि अरुमाथि पनि यस्तो नहोला भन्न सकिँदैन ।’
गुरुङले आफू संघर्ष गरेर यहाँसम्म आएको बताए । भाटभटीले हजारौँलाई रोजगारी दिइरहँदा बैंकको अर्बौको ऋण तथा बजारमा अर्बौं पैसाको लेनदेन रहेको उनको भनाइ छ ।
उनले भने, ‘यसरी लुटपाट हुने र कसैले पनि सजाय नपाउने हो भने नेपालमा व्यवसाय गर्ने न म हुन्छु, न अरु कोही हुन्छ ।’
गुरुङका अनुसार भाटभटेनीमा १५ अर्बको क्षति भएको छ । दसैँ र तिहारको समयमा भएको क्षति १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको उनको भनाइ छ । भाटभटेनीको कूल बीमा रकम भने करिब १० अर्ब रुपैयाँ मात्र रहेको छ । यो क्षति कल्पना नै नगरिएको वा सपनामा नसोचेको कुरा भएको उनले बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
