३५ वर्षदेखि भुटानी जेलमा रहेका राजबन्दीको रहस्यमय मृ*त्यु

भुटानका विभिन्न जेलमा तीन दशकभन्दा बढी समयदेखि राखिएका राजनीतिक बन्दीमध्येका एक शाबहादुर गुरुङको २९ मंसिरमा रहस्यमय मृत्यु भएको छ । भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ले थिम्पुस्थित चामगाङ केन्द्रीय कारागारको आफ्नै कोठामा गुरुङ मृत भेटिनु रहस्यमय भएको भन्दै छानबिनको माग गरेको छ ।
‘जेलमा यस प्रकारको मृत्यु हुनु राज्यको गैरजिम्मेवारीपन र लापरबाही हो । सरकारमाथि गम्भीर प्रश्न उब्जेको छ,’ अभियानका संयोजक राम कार्कीले नेदरल्यान्ड्सबाट टेलिफोनमा भने । भुटानको चिराङ क्षेत्रका स्थायी बासिन्दा शाबहादुर सन् १९९० मा रोयल भुटानी सेनामा कार्यरत रहेकै वेला पक्राउ परेका थिए । ‘भुटानमा प्रजातन्त्रका लागि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको अभियोगमा उनलाई पक्राउ गरी आजीवन कारावासको सजाय सुनाइएको थियो । तीन दशकभन्दा बढी समयसम्म उनी मुख्यत: वाङ्दी फोड्राङ जिल्लास्थित राबुना कारागारमा थुनिएका थिए, जुन कारागार कठोर, अमानवीय र कुख्यात मानिन्छ,’ अभियानले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । गुरुङका आफन्त अमेरिका र अन्य देशमा बसोबास गरिरहेका छन् ।

कार्कीका अनुसार कारावास अवधिभर गुरुङले गम्भीर शारीरिक र मानसिक यातना सहनुपरेको थियो । सुरक्षाकर्मीले उनीमाथि पटक–पटक कुटपिट गरेको, एकान्त कारावासमा राखेको तथा अन्य अमानवीय व्यवहार गरिएको थियो । आफन्तहरूले कार्कीलाई बताएअनुसार केही दिनअघि सुरक्षाकर्मीले गुरुङलाई मृत्युदण्ड दिने आदेश जारी भएको र उनलाई यातना दिएर मृत्युको मुखमा धकेल्ने चेतावनी दिएका थिए । यद्यपि, उनीमाथि मृत्युदण्डको पुष्टि भने भएको छैन । ‘त्यसबाहेक दशकौँ लामो दुव्र्यवहार र समयमै उपचार नपाउँदा उनको स्वास्थ्य अत्यन्तै कमजोर बनेको र अन्तत: त्यसैको परिणामस्वरूप उनको मृत्यु भयो भन्ने परिवारजनको विश्वास छ,’ कार्कीले भने ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि दुई साताअघि उनलाई अमानवीय मानिने राबुना कारागारबाट चेमगाङ केन्द्रीय कारागारमा सारिएको थियो । उनी १० डिसेम्बरदेखि त्यहाँ थिए । उनलाई जेल स्थानान्तरणका क्रममा पनि आवश्यक चिकित्सकीय उपचार गर्न नदिइएको परिवारजनको आरोप छ ।
आफन्त तथा अन्य विवरणअनुसार २८ मंसिर साँझ गुरुङ खाना खाएर सुत्न गएका थिए र उनको कुनै अस्वाभाविक लक्षण देखिएको थिएन । ‘तर, १५ डिसेम्बर २०२५ (२९ मंसिर) बिहान उनी कोठाभित्र बेहोस अवस्थामा फेला परे । ड्युटीमा रहेका प्रहरीले उनलाई नजिकैको स्वास्थ्यचौकी हुँदै थिम्पुस्थित अस्पतालमा रिफर गरिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
