नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप

कैलाली । कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवा अहिले सिंगापुर छन् । विशेष महाधिवेशनबाट अपदस्त भएपछि डडेल्धुराबाट बाट निर्वाचन लड्ने उनको अन्तिम चाहना पनि पूरा भएन।
३४ वर्षदेखि देउवा लड्दै आएको यो क्षेत्रमा पहिलो पटक कांग्रेसले युवा नेता नैनसिंह महरलाई टिकट दियो । तर, देउवाले कहिल्यै महरलाई जिताउन सार्वजनिक आह्वान वा अपिल गरेनन् । बरु निर्वाचन छलेर सिंगापुर पुगेपछि त्यहीबाट डडेल्धुराका कैयौँ मतदातासँग सम्पर्क गरेर आफूहरूलाई गरिएको अपमानको मतबाट जवाफ दिन दबाब दिएको आरोप लागेको छ ।

‘शेरबहादुर देउवाको नामबाट भानुले धेरैलाई फोन गर्नुभएको थियो। फोनमा निर्वाचनसँग सम्बन्धित कुरा गर्नुभएको हो,’ कांग्रेस स्रोतले भन्यो ‘देउवाको चाहना विपरीत टिकट ल्याएको आरोप लगाउँदै मत प्रभावित गर्नुभएको सूचना हामीले पाएका छौँ।’
२०४८ सालदेखि शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचन लड्दै जित्दै आइरहेका थिए। यस पटक भने उनले निर्वाचन लड्न पाएनन्। आफूले निर्वाचन लड्न नपाएपछि सिंगापुरबाटै कांग्रेसकै उम्मेदवारलाई पराजित गर्ने भूमिकामा लागेको आरोप छ।
डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्। महरले पाएको मत २०४८ पछि कांग्रेसले पाएको सबैभन्दा कम मत हो।
देउवाले २०४८ सालमा झन्डै २४ हजार ५ सय मतसहित डडेल्धुराबाट पहिलो पटक जित हासिल गरेका थिए। त्यसपछि २०५१ सालमा करिब २० हजार मत ल्याएर पुनः निर्वाचित भए भने २०५६ सालमा २८ हजार मत प्राप्त गरे ।
देउवा २०६४ सालको संविधानसभा निर्वाचनमा २० हजार ५२९ मत पाएका थिए भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ४४६ मतसहित निर्वाचित भएका थिए । यस अघि २०७९ सालमा पनि २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी भए ।
२०४८ सालदेखि डडेल्धुरामा देउवाले निरन्तर जित निकाल्दै कांग्रेसको राजनीतिक विरासत जोगाइरहेका थिए। तर यस पटक उनी मैदानमा नउत्रिँदा कांग्रेस मात्रै पराजित भएन, कांग्रेसले ३४ वर्षसम्म पाइरहेको मत पनि घट्यो। मत घटाउन स्वयं देउवा सक्रिय रहेको केही नेताहरूको आरोप छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
