मन्त्रीहरुको सम्पत्ति विवरण अविश्वासनीय र संशयपूर्ण रहेको अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममताको दाबी

काठमाडौं। नेपाल सरकारका मन्त्रीहरुको यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गर्यो ।
हालै सार्वजनिक भएको विवरण अपारदर्शी भएको भन्दै विद्यार्थीहरुले सम्पत्तिको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

मन्त्रीहरुको सयौं तोला सुन, करोडौंको सेयर, सयौं रोपनी जमिन र करोडौंको अपार्टमेन्ट सार्वजनिक हुनु असम्भव प्राय रहेको क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष ममता अधिकारीले बताइन् । आयश्रोतमा आफूहरुको संशय रहेको उनको दाबी छ ।
‘पहिला नै नेता र जनताबीच एक खालको खाडल थियो । अहिले त्यो खाडल झनै गहिरिएर गएको देखिन्छ,’ ममताले भनिन्, ‘पैत्रिक सम्पत्तिको नाममा यत्रो सम्पत्ति थुपारेपछि यसको आयश्रोत के हो त ? कुन आयश्रोतका आधारमा एउटा व्यक्तिको यति धेरै सम्पत्ति थुप्रिन्छ ? उहाँहरुको आयश्रोत कति पारदर्शी छ ? हामीले यिनै प्रश्नको जवाफ चाहेका हौं ।’
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवतरण एकदमै अविस्वासनीय रहेको उनले बताइन् । गृहमन्त्री सुदन गुरुङलाई उनको प्रश्न छ, ‘जेनजी आन्दोलनमा पानी बाँड्न गएका मान्छेको ८९ तोला सुन, करोडौंको सेयर कसरी आयो ? जनतालाई थाहा पाउने अधिकार छ ।’
आयश्रोत देखाउनु गृहमन्त्रीको जिम्मेवारी रहेको र थाहा पाउनु आफूहरुको अधिकार रहेको ममताको भनाइ छ । आज मात्र नभएर हिजोदेखि आफ्नै पार्टीका नेताहरुमाथि प्रश्न उठाउँदै आएको पनि उनको दाबी छ । महल नै ठडाए पनि आफूहरुलाई समस्या नभएको तर, नेता पारदर्शी छ भन्ने विश्वासका लागि आयश्रोत देखाउनुपर्ने बताइन् ।
झनै नयाँ भनिएकाहरु त झनै पारदर्शी हुनुपर्ने उनको भनाइ छ । साथै २०४६ सालपछिका सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरुको सम्पत्ति छानबिन हुनुपर्ने ममताहरुको माग छ
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
