राजनीति

राप्रपाभित्र फेरि हलचल, दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोल्न तातेका हुन् धवल ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आज लेखेको एउटा स्टाटसले पार्टीभित्रको आन्तरिक एकतामा गम्भीर संकट उत्पन्न भएको संकेत गर्छ । उनले पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाको पछिल्ला गतिविधिलाई लिएर आशंका व्यक्त गर्दै जवाफ मागेका छन् ।

महामन्त्री राणाले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोल्न लागेको दावी गर्दै पत्रकार नवराज धानुकले लेखेको स्टाटसको स्क्रिनसट राख्दै श्रेष्ठले राणासँग जवाफ खोजेका हुन् ।

बिज्ञापन

धानुकको स्टाटसमा लेखिएको थियो, ‘नयाँ पार्टी खोल्ने तयारीमा धवलशम्शेर राणा र दुर्गा प्रसाईं, दुवै आन्तरिक छलफलमा । वर्तमान परिस्थिति र जनादेशलाई हेर्दै नयाँ दल खोलेर राजासहितको हिन्दुराष्ट्र मुख्य एजेन्डा ।’

स्टाटसको स्क्रिनसट हाल्दै श्रेष्ठ लेख्छन्, ‘केही दिनयता हाम्रो पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई जोडेर यस्ता समाचारहरु आइरहेका छन् । व्यक्तिगतरुपमा म यो समाचारमा किञ्चित विश्वास गर्दिन, तर पात हल्लियो । हावा चलेरै पात हल्लिएको हो कि के होला ? सार्वजनिक भएका विषयमा आम जनसमुदाय, पार्टी पंक्ति एवं शुभेच्छुक, शुभचिन्तकलाई स्पष्ट पारिदिनु हुन श्रद्धेय महामन्त्री डा.राणालाई सार्वजनिक रुपमा विनम्र अनुरोध गर्दछु ।’

श्रेष्ठ पार्टीको प्रचार विभाग प्रमुख र प्रवक्ता मात्रै नभएर अध्यक्ष राजेन्द्र लिङदेनका सबैभन्दा विश्वासिला नेताका रुपमा चिनिन्छन् । त्यसैले उनका अभिव्यक्तिहरुमा पार्टी संस्थापन र अध्यक्ष लिङदेनको आधिकारिक धारणा आउने विश्वास गरिन्छ । उनी पार्टीका आन्तरिक विषयहरुमाथि हतारिएर सामाजिक सञ्जालमा टिप्पणी गरिहाल्ने नेता पनि होइनन् ।

राप्रपाभित्र लामो समयदेखि दुई गुटको अन्तरसंघर्ष चलिरहेको छ । गत महाधिवेशनमा राजेन्द्र लिङदेनलाई अध्यक्ष बन्न सघाएका धवलशम्शेर राणाले अहिले संस्थापनइतर गुटको नेतृत्व गरिरहेका छन् । केही समय अगाडि आपसी सुलह गरेर आन्तरिक विवादलाई सामसुम पारिएको थियो ।

राप्रपा एकतावद्ध देखिएरै चुनावमा गयो । तर, चुनावी परिणाममा निराशा हात लागेसँगै अन्तरकलह फेरि ब्यूँतिएको छ । गत आइतबार महामन्त्री राणाले संस्थापन पक्षको भेला डाके, जसमा यसअघि नउठेका आवाजहरु सुनिए । पार्टीका केही नेताले खुलेरै राप्रपाको औचित्य सकिएको र नयाँ पार्टी गठन गर्नुपर्ने बताए । त्यसमध्ये एक थिए महामन्त्री प्रल्हाद साह ।

चुनावअघिसम्म राप्रपाको संस्थापन पक्षमा रहेका साह पहिलोपटक इतर पक्षको बैठकमा सहभागी भएका थिए । उनले खुलेरै भने, ‘अब राप्रपामा बसेर काम छैन । नयाँ पार्टी बनाउनुपर्छ ।’

उक्त भेलापछि एउटा पत्र अध्यक्ष लिङदेनलाई इमेल गरियो, जसमा मुख्य माग छ-केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र महाधिवेशन गराउन ‘निष्पक्ष’ व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने । अल्टिमेटमकै शैलीमा प्रस्तुत गरिएको मागलाई अध्यक्ष राजेन्द्र लिङदेनले भने कुनै टेरपुच्छर लगाएका छैनन् । उनी शान्तिपूर्ण तरिकाले संस्थापनइतर पक्षका गतिविधि नियालिरहेका छन् ।

संस्थापनइतरले दिएको एक हप्ताको अल्टिमेटम आइतबार सकिनेछ । अध्यक्ष लिङदेननिकट स्रोतका अनुसार उनीहरुले अघि सारेको माग पूरा हुने सम्भावना छैन । ‘निस्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने’ मागलाई लिङदेनको विकल्प खोजिएको अर्थमा संस्थापन पक्षले बुझेको छ र सत्य पनि त्यही नै हो ।

अब प्रश्न उठ्छ-एक हप्ताभित्र संस्थापन पक्षले माग पूरा नगरे इतर पक्षले के गर्छ ? यो प्रश्न हामीले महामन्त्री डा. राणालाई सोध्यौं । उनले तत्काल प्रतिक्रिया नदिने बताए ।

राणाले भने, ‘हामीले सात दिन समय दिएका हौं । त्यो मितिसम्म कुरिरहेका छौं ।’ माग पूरा नभए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अहिले म केही भन्न सक्दिनँ, सात दिनको म्याद सकिएपछि थाहा हुन्छ ।’

उनले राप्रपा फुटाएर अर्को पार्टी बनाउने चर्चालाई इन्कार गरे । यद्यपि, संस्थापनइतरका केही नेताहरुले त्यस्तो गृहकार्य भएको दावी गरेका छन् । एक केन्द्रीय सदस्यले भने, ‘यही तरिकाले राप्रपा अब उँभो लाग्ने छाँट देखिएन । चुनाव परिणामबाट हामी सबै निराश छौं । अब यो पार्टीमा बसेर केही उपलब्धी हुँदैन भन्ने निस्कर्षमा धेरै नेताहरु पुगेका छन् ।’

ती केन्द्रीय सदस्यको भनाइअनुसार अहिले राप्रपाभन्दा बाहिर रहेका राजावादी नेताहरुसँग डा. राणाले छलफल गरिरहेका छन् । दुर्गा प्रसाईंसँग पनि छलफल भएको उनले पुष्टि गरे । ‘उहाँसँगको छलफल सकारात्मक छ । उहाँ पनि एउटा पार्टी चाहिने रहेछ भन्ने निस्कर्षमा पुग्नुभएको छ,’ ती केन्द्रीय सदस्यले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।