प्रवासी नेपाली व्यवसायी संगठन ECCI मा नयाँ नेतृत्व, अध्यक्षमा कार्की

आगामी कार्यकालमा बजेट चारदेखि पाँच करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य
नयाँ दिल्ली । भारतमा रहेका प्रवासी नेपाली उद्योगी–व्यवसायीहरूको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज (ECCI) को अध्यक्षमा डा. मोहन कार्की चयन भएका छन्।

नयाँ दिल्लीमा आइतबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले कार्कीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सर्वसम्मत रूपमा चयन गरेको हो। योग विषयमा विद्यावारिधि हासिल गरेका कार्की दि योगगुरु इन्स्टिच्युट का संस्थापक समेत हुन्।

संस्थाले सदस्य विस्तार भएका राज्यहरूलाई श्रेणीगत रूपमा ६ जोनमा विभाजन गर्दै उपाध्यक्षहरू चयन गरेको जनाएको छ। जसअनुसार महाराष्ट्रबाट मनोज कोटाल, नेपालबाट दुर्गा सुवेदी, मध्यप्रदेशबाट गणेश पाण्डे तथा पश्चिम बंगालबाट खेमराज बराल, राजकुमार श्रेष्ठ, राम नेपाल र प्रमोद खरेल चयन भएका छन्।
महासचिवमा चन्द्र लामिछाने, उपमहासचिवमा एल.पी. पाण्डे र कोषाध्यक्षमा सीए सन्दीप कौशल चयन भएका छन्। अन्य सदस्यसहित २७ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको हो।
कार्यक्रममा निवर्तमान अध्यक्ष युवराज बरालले नवनिर्वाचित अध्यक्ष कार्कीलाई पदभार हस्तान्तरण गरेका थिए। नवगठित कार्यसमितिले आइतबार नै पहिलो बैठक सम्पन्न गर्दै तीनवटा प्रस्ताव पारित गरेको जनाएको छ।
अध्यक्ष कार्कीले संस्थालाई प्रभावकारी नेटवर्किङ प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकालमा बजेट चारदेखि पाँच करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य लिएको बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.