घटना

अछामको जङ्गलमा किशोरी मृत फेला, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछामको मंगलसेन नगरपालिका–१३ स्थित बुडाबाँडा क्षेत्रमा चार दिनदेखि बेपत्ता भएकी एक युवती जङ्गलमा मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा शोक छाएको छ।

स्थानीय जितु साउँदकी करिब १७/१८ वर्षीया छोरी अमृता साउँद जेठ ५ गते साँझदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारका अनुसार उनी साँझ करिब ५ बजेतिर “दाउरा लिन जान्छु” भनेर घरबाट निस्किएकी थिइन्। त्यसपछि लामो समयसम्म घर नफर्किएपछि परिवारले आफन्त तथा छिमेकीको सहयोगमा खोजी सुरु गरेका थिए।

बिज्ञापन

खोजीका क्रममा शुक्रबार घर नजिकै रहेको जङ्गल क्षेत्रमा अमृता मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी झुन्डिएको अवस्थामा भेटिएकी हुन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय अछाम का प्रवक्ता प्रहरी निरीक्षक दिनेशप्रसाद रिमाल ले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। घटनास्थलको मुचुल्का उठाउने, स्थानीयसँग सोधपुछ गर्ने तथा अन्य प्रमाण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेकाले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र विस्तृत तथ्य सार्वजनिक गरिनेछ। घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने परिवार शोकमा डुबेको छ।

ग्रामीण क्षेत्रमा युवायुवती हराउने, मानसिक तनाव, पारिवारिक समस्या वा अन्य कारणले यस्ता दुःखद घटना बढ्दै गएको भन्दै स्थानीयले सचेतना र मनोसामाजिक सहयोगको आवश्यकता औंल्याएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।