राजापुरको टेडियामा युवतीमाथि धारिलो हतियार प्रहार, घाइतेको उपचार जारी

गोदावरी, ३१ जेठ । बर्दियाको राजापुर नगरपालिका–३, टेडिया निवासी एक युवतीमाथि धारिलो हतियार प्रहार भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ। आक्रमणमा परेर घाइते भएकी युवतीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजापुर नगरपालिका–३ टेडिया बस्ने दिलबहादुर थारुकी छोरी दिपासा थारु शुक्रबार साँझ चाउमिन पसलबाट घर फर्किने क्रममा आक्रमणको शिकार भएकी हुन्। राजापुर रंगशाला नजिक करिब साँझ ७:३० बजेको समयमा अज्ञात रूपमा पुगेका एक व्यक्तिले उनीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ।

आक्रमणबाट घाइते भएकी दिपासालाई तत्काल स्थानीयवासी तथा परिवारका सदस्यहरूको सहयोगमा उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याइएको थियो। चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आक्रमणमा संलग्न रहेको आशंकामा धनगढी उपमहानगरपालिका निवासी अन्दाजी ३५ वर्षीय धनिराम चौधरीको नाम खुलेको प्रहरीले जनाएको छ। घटना लगत्तै फरार भएका उनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ।
प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। आक्रमणको कारणबारे विस्तृत अनुसन्धान भइरहेको र शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएपछि थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
घटनापछि स्थानीयवासीले सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। साँझको समयमा सार्वजनिक स्थान नजिकै भएको यस घटनाले स्थानीय समुदायमा चिन्ता बढाएको छ।
यता, दिपासा थारुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवार, आफन्त तथा स्थानीयवासीहरूले दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। प्रहरीले फरार रहेका आरोपितको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
