कृषि

वडा नं. ४ ले सिचाइ सुविधामा पहुँच बढाउन ९ कृषकलाई स्यालो ट्युबवेल हस्तान्तरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर (अस्नेरी), असार ४ । वडा नं. ४ ले सिचाइ सुविधामा पहुँच बढाउन ९ कृषकलाई स्यालो ट्युबवेल हस्तान्तरण गरिएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ ले सिँचाइ सुविधाको पहुँच नभएका कृषकलाई लक्षित गर्दै चालु आर्थिक वर्षको बजेटबाट ७५ प्रतिशत अनुदानमा स्यालो ट्युबवेल वितरण गरेको छ। कृषिमा आधारित अधिकांश परिवारको जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमबाट वडाभित्रका किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

वडा नं. ४ को आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालित ‘सिँचाइका लागि स्यालो ट्युबवेल वितरण कार्यक्रम’ मार्फत छनोट भएका ९ जना कृषकलाई एक विशेष कार्यक्रमका बीच वडा अध्यक्ष लालवीर चौधरीले स्यालो ट्युबवेल हस्तान्तरण गर्नुभएको हो।

बिज्ञापन

स्यालो ट्युबवेल प्राप्त गर्ने कृषकहरूमा कोदैपुरका कटेश चौधरी र पूर्ण कुमाल, बाघमाराका पहेरा थारु, हरिप्रसाद चौधरी र रामदिन चौधरी, मौरनियाका बजारु थारु, कृष्णदेवी चौधरी र मिछिया चौधरी तथा इन्द्रैयाकी विस्नी थारुनी रहेका छन्।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लालवीर चौधरीले स्यालो ट्युबवेल वितरण कार्यक्रमले वडाभित्रका किसानहरूको सिँचाइसम्बन्धी समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अधिकांश किसान वर्षायाममा मात्र खेती गर्न बाध्य हुने र पर्याप्त सिँचाइको अभावका कारण अपेक्षित उत्पादन लिन नसकिरहेको अवस्थामा यस प्रकारको सहयोगले कृषि उत्पादन वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो।

उहाँले सानो लगानी र सहयोगले पनि किसानको जीवनस्तर सुधार गर्न ठूलो भूमिका खेल्न सक्ने उल्लेख गर्दै वडाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रमबाट किसानहरूले प्रत्यक्ष लाभ लिएको उल्लेख गर्दै आगामी दिनमा समेत कृषकको आवश्यकता र मागका आधारमा थप प्रभावकारी योजना ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष चौधरीले पानीको अभावका कारण खेतीयोग्य जमिन बाँझो रहने, समयमै बाली लगाउन नसकिने तथा उत्पादन लागत बढ्ने समस्या रहेको बताउँदै स्यालो ट्युबवेल जस्ता प्रविधिले वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस कार्यक्रमले किसानलाई परम्परागत खेती प्रणालीबाट व्यावसायिक तथा आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न समेत सहयोग पुर्‍याउनेछ।

उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै युवाहरूलाई कृषि पेशामा आकर्षित गर्न स्थानीय सरकारले विशेष पहल गरिरहेको बताउनुभयो। यस्ता कार्यक्रमले किसानको आयआर्जन वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने तथा स्थानीय उत्पादन वृद्धि गरी खाद्य सुरक्षामा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।

वडा अध्यक्ष चौधरीले आगामी आर्थिक वर्षहरूमा पनि कृषि, पशुपालन तथा सिँचाइसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै किसानको जीवनस्तर उकास्न वडा कार्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

स्यालो ट्युबवेल प्राप्त गरेका कोदैपुर निवासी कृषक कटेश चौधरीले लामो समयदेखि सिँचाइ सुविधाको अभाव झेल्दै आएको बताउँदै यस वर्ष वडा कार्यालयको सहयोगमा स्यालो ट्युबवेल प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले विगतका वर्षहरूमा वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको र पर्याप्त सिँचाइ नहुँदा उत्पादनसमेत अपेक्षाअनुसार हुन नसकेको अनुभव सुनाउनुभयो।

त्यस्तै, बाघमारा निवासी हरिप्रसाद चौधरीले आफू विद्युत व्यवसायमा संलग्न रहे पनि कृषि क्षेत्रप्रति विशेष रुचि राख्दै आएको बताउनुभयो। उहाँले सिँचाइ सुविधाको अभावका कारण चाहेर पनि कृषि कार्यलाई विस्तार गर्न नसकेको उल्लेख गर्दै वडा कार्यालयबाट स्यालो ट्युबवेल प्राप्त गरेपछि खेतीपातीलाई थप व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउने योजना रहेको जानकारी दिनुभयो।

स्यालो ट्युबवेल प्राप्त गरेका सबै कृषकले वडा कार्यालयको सहयोगप्रति खुशी तथा कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले सिँचाइ सुविधाको अभावका कारण लामो समयदेखि विभिन्न समस्या झेल्दै आएको अवस्थामा वडा कार्यालयले उपलब्ध गराएको स्यालो ट्युबवेलले कृषि कार्यलाई सहज, प्रभावकारी तथा उत्पादनमुखी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।