रास्वपा महामन्त्रीको दौडमा को-को ?

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आसन्न महाधिवेशनमा भावी महामन्त्रीका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपामा सभापतिपछिको पावरफुल पद महामन्त्री हो ।
चितवनमा चैत ७,८ र ९ गते रास्वपाको पहिलो महाधिवेशन हुँदै छ । विधानबमोजिम महाधिवेशनले २ जना महामन्त्री निर्वाचित गर्छ । पहिले एक जना मात्र महामन्त्री रहने व्यवस्था रहेकामा बालेन समूहसित एकीकरणपछि एक महामन्त्री थप गरिएको हो । अहिले संस्थापन पक्षबाट कवीन्द्र बुर्लाकोटी र बालेन समूहबाट भूपदेव शाह महामन्त्री छन् ।

रास्वपा विधानअनुसार पार्टीको दैनिक प्रशासनिक तथा सांगठनिक नेतृत्व महामन्त्रीले गर्छ । यस अन्तरगत पार्टीको केन्द्रीय कार्यालय सञ्चालन, दैनिक कार्यहरुको व्यवस्थापन र समन्वय गर्ने जिम्मेवारी महामन्त्रीको हुन्छ । केन्द्रीय समिति र कार्य सम्पादन समितिको बैठक तयारी गर्ने, निर्णय कार्यान्वयन र अभिलेखीकरण गर्ने जिम्मा पनि विधानले महामन्त्रीलाई दिएको छ ।
पार्टीका निर्णयहरू कार्यान्वयन गर्न मुलरुपमा महामन्त्री जिम्मेवार हुन्छ । उसले आवश्यकताअनुसार सहमहामन्त्री वा अन्य पदाधिकारीहरूलाई काम प्रत्यायोजन गर्न सक्छ । पार्टीका विभिन्न विभाग र सहमहामन्त्रीहरूलाई कामकै क्षेत्र विभाजन गरी समन्वय गर्ने जिम्मेवारी पनि महामन्त्रीको हो ।
को-को छन् दाबेदार ?
हाल रहेका दुई महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह फेरि दोहोरिने योजनामा छन् । रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाल पार्टीबाट निष्कासित भएपछि २०८२ असारमा कवीन्द्र महामन्त्री बनेका हुन् । त्यसपूर्व उनी सहमहामन्त्री थिए । महामन्त्री बनेको १ वर्षमात्रै भएकाले उनी दोहोरिन चाहनु स्वभाविक पनि हो ।
भूपदेव त झन् दुई महिना अगाडि मात्रै महामन्त्री बनेका हुन् । उनलाई गत वैशाख ७ मा रास्वपाले बालेन टीमका तर्फबाट महामन्त्रीको भूमिका दिएको हो । भूपदेव गत संसदीय निर्वाचनमा पराजित भएका थिए । उनी अब ५ वर्ष पार्टीमै सक्रिय हुनुको विकल्प छैन । त्यसैले महामन्त्रीमा उठ्ने तयारीमा छन् ।
उनीहरुबाहेक नयाँ आकांक्षीहरु पनि छन् । सर्वाधिक चर्चामा रहेका चार नामहरु हुन्– विपिन आचार्य, दीपक बोहोरा, मनिषा झा र हरि ढकाल । चारैजना फरक विशेषतासहितका अब्बल नेताहरू हुन् । विपिन अहिले एक मात्र सहमहामन्त्री छन् र पार्टीका दस्ताबेज निर्माणदेखिका नीतिगत विषयहरूमा उनको खोजी हुन्छ । उनी रास्वपाको संस्थापक समूहका नेतामध्ये पर्छन् । हाल संसदमा पनि उनको प्रभावशाली भूमिका देखिँदै आएको छ ।
दीपक बोहोरा सभापति रवि लामिछानेका दाहिने हातका रूपमा चिनिन्छन् । उनी व्यवस्थापकीय पाटोमा अब्बल छन् । रवि कारागारमा रहेका बेला उनकै नेतृत्वमा रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । रविसँग उनको सहयात्रा सञ्चारकर्मदेखिकै हो । रविले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगका उनी प्रोड्यूसर थिए ।
मनिष झा अहिले पार्टीका प्रवक्ता छन् । सैद्धान्तिक विषयमा उनको बलियो पकड छ र पार्टीका आधिकारिक धारणाहरूलाई स्पष्ट एवं आक्रामकरुपले प्रस्तुत गर्न सक्ने खुबी देखाइसकेका छन् ।
हरि ढकाल अर्का जुझारु नेता हुन् । चितवन १ बाट दुईपटक प्रत्यक्ष निर्वाचित सांसद ढकालको संगठन संरचनामा राम्रो पकड छ ।
उपसभापतिमा दाबी गरिरहेकी कानूनमन्त्री सोविता गौतमले अन्तमा महामन्त्रीमा उम्मेदवारी दिनसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । उनले उम्मेदवारी दिइन् भने बलियो प्रतिस्पर्धीका रूपमा हेरिनेछ ।
महामन्त्रीका अर्का आकांक्षी यज्ञमणी न्यौपाने पनि हुन् । पेशाले कानून व्यवसायी उनी यसअघि रास्वपाको अनुशासन समिति सदस्य थिए । रास्वपाका कानूनी मामिलाहरु उनले हेर्दै आएका छन् । मोरङ १ बाट निर्वाचित सांसद रहेका न्यौपानेले संसदमा कानून न्याय र सुशासनसम्वन्धी मुद्दामा बोल्ने गर्छन् ।
स्रोतहरूका अनुसार रास्वपा सभापति रवि लामिछाने पूर्वबालेन समूहलाई नेतृत्व तहमा समेट्ने हेतु भूपदेवलाई महामन्त्रीमा सर्वसम्मत गराउन तत्पर छन् । यदि पार्टीको तर्फबाट त्यस्तो प्रस्ताव ल्याइएको खण्डमा हलले ताली पिटेर शाहलाई महामन्त्री घोषणा गर्न सक्ने सम्भावना पनि रहन्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
