प्रकाशमान ठकुल्लाको बढ्दो मानसिक तनावबीच ‘तनाव व्यवस्थापन’ पुस्तक विमोचन

टीकापुर, असार ६ । युवा साहित्यकार तथा लेखक प्रकाशमान ठकुल्लाद्वारा संकलित तथा प्रकाशित ‘तनाव व्यवस्थापन’ पुस्तकको विमोचन गरिएको छ।
सन्त निरंकारी सत्संग भवन टीकापुरमा शनिबार आयोजित कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले पुस्तकको विमोचन गर्नुभएको हो। कार्यक्रममा सन्त–महात्मा, बुद्धिजीवी तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रावलले आधुनिक जीवनशैली, बढ्दो प्रतिस्पर्धा, आर्थिक चुनौती, पारिवारिक जिम्मेवारी, सामाजिक दबाब तथा सूचना–प्रविधिको तीव्र विकासका कारण मानिसहरूमा तनावको समस्या बढ्दै गएको बताउनुभयो। उहाँले सीमित मात्रामा रहेको तनावले व्यक्तिलाई सक्रिय र सचेत बनाउन मद्दत गरे पनि दीर्घकालीन तथा अत्यधिक तनावले शारीरिक, मानसिक र सामाजिक जीवनमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्नुभयो। पुस्तकले तनाव व्यवस्थापनका प्रभावकारी उपायबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
लेखक तथा प्रकाशक ठकुल्लाले पुस्तकमा तनावका कारण, प्रभाव तथा समाधानका व्यवहारिक उपायहरूलाई सरल र सहज भाषामा प्रस्तुत गरिएको जानकारी दिनुभयो। नियमित व्यायाम, सकारात्मक सोच, समय व्यवस्थापन, ध्यान तथा आत्मनियन्त्रणजस्ता उपायलाई उदाहरणसहित समेटिएकाले पुस्तक पाठकका लागि उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

पुस्तकको सम्पादन सन्त निरंकारी मासिक तथा मालिका समाचारका सम्पादक पूर्ण कुमालले गर्नुभएको छ भने आवरण डिजाइन सन्त निरंकारी मासिकका सह–सम्पादक सुरेन्द्र खड्काले तयार गर्नुभएको हो। पुस्तकमा विभिन्न क्षेत्रका २२ जना लेखकका लेख समावेश छन्, जसमा वर्तमान समयमा बढ्दो तनाव, त्यसका कारण तथा व्यवस्थापनका उपायबारे विस्तृत चर्चा गरिएको छ।
सम्पादक पूर्ण कुमालले पुस्तकले तनावको प्रकृति, प्रकार, कारण र प्रभावबारे बुझ्न तथा त्यसको व्यवस्थापनका लागि व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले पुस्तकले पाठकलाई व्यक्तिगत अनुभवलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट विश्लेषण गर्न समेत प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, पूर्व शिक्षक बलबहादुर रावल, नरबहादुर थापा, धनसिंह नेपाली, शिक्षक शालिराम घर्ती लगायत स्थानीय सन्तहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दीपक रावलले गर्नुभएको थियो।

यसैबीच, पुस्तकको अर्को विमोचन कार्यक्रम ललितपुरस्थित सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय कार्यालय इमाडोलमा पनि सम्पन्न भएको छ। केन्द्रीय उपाध्यक्ष कृष्ण पन्थले पुस्तकको विमोचन गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय सचिव अनिल महर्जन, केन्द्रीय सदस्य तथा क्षेत्रीय सञ्चालक बाबुराजा महर्जन, सञ्चारकर्मी बलराम रोकायालगायत सन्त–महात्माहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन हृदय गणेशले गर्नुभएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.