आस्था /आध्यात्म

टीकापुरसहित नेपालका विभिन्न सत्संग भवनमा योग दिवस, स्वस्थ जीवनशैली र आत्मअनुशासनको सन्देश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, असार २१ । १२औ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा टीकापुरस्थित सन्त निरंकारी सत्संग भवनमा योग दिवस कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ।

कार्यक्रममा टीकापुर योग आश्रमका अध्यक्ष तथा योग प्रशिक्षक नरबहादुर कडायतले स्वस्थ जीवनशैलीका लागि सन्तुलित आहार, मौसम अनुसारका फलफूलको सेवन, भोजनलाई राम्ररी चपाएर खाने, खाना खाएको एक–दुई घण्टापछि मात्र पानी पिउने तथा प्रशस्त मात्रामा पानी सेवन गर्ने बानीले शरीरको शुद्धीकरण भई स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।

बिज्ञापन

उहाँले मानिसहरू दैनिक जीवनमा कामको चापमा अत्यधिक व्यस्त रहने भएकाले आफ्नै स्वास्थ्य र जीवनप्रति पर्याप्त ध्यान दिन नसकिरहेको उल्लेख गर्नुभयो। जीवनभर कामको दबाबमा रहँदा शरीर कमजोर र अस्वस्थ बन्न सक्ने भन्दै उहाँले आत्मअनुशासन, संयम र सकारात्मक सोचको विकास आवश्यक रहेको धारणा राख्नुभयो।

कडायतले भगवानले मानव जीवनलाई अमूल्य रूपमा प्रदान गरेको स्मरण गराउँदै गलत संगत, कुलत तथा अनियन्त्रित जीवनशैलीले मानिसलाई दुःखतर्फ धकेल्ने बताउनुभयो। मनलाई नियन्त्रणमा राख्न सके स्वस्थ, सन्तुलित र सुखी जीवनयापन गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रमका क्रममा उहाँले योगका विभिन्न अभ्यासहरूबारे जानकारी दिँदै हात–खुट्टाको सञ्चालनसँगै श्वास–प्रश्वासलाई समन्वय गर्ने तरिका, शरीरका विभिन्न अंगलाई सक्रिय बनाउने अभ्यास, मिर्गौला र फोक्सोको स्वास्थ्य सुदृढ गर्ने उपाय, हाँसोले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव तथा ध्यानमार्फत आन्तरिक क्रियाकलापलाई सूक्ष्म रूपमा अनुभूति गर्ने विधिबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभयो।

त्यसैगरी उहाँले सहभागीहरूलाई एक आध्यात्मिक भजनमा ध्यान केन्द्रित गराउँदै त्यसका शब्दहरूको भावार्थ गहिरिएर बुझ्न आग्रह गर्नुभयो। ‘बुझ्न सके गुरुदेवलाई, सागरको मोती रहेछन्, बुझ्न सके चैत मासको झरी रहेछन्’ भन्ने भजनमार्फत गुरुको महिमा र आध्यात्मिक महत्व प्रस्तुत गरिएको बताइएको थियो।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले विश्व योग दिवसका अवसरमा नेपालभरका विभिन्न सत्संग भवनहरूमा शुक्रबारदेखि आइतबारसम्म विविध कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले मनलाई योग र ज्ञानसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्दै परमात्मासँगको सम्बन्ध स्थापित गर्नु नै वास्तविक योग भएको धारणा व्यक्त गर्नुभयो।

रावलले वर्तमान समयमा धेरै मानिसहरू तनावबाट प्रभावित भइरहेको सन्दर्भ उल्लेख गर्दै हालै प्रकाशित ‘तनाव व्यवस्थापन’ पुस्तकले तनाव व्यवस्थापनका विविध उपायहरू प्रस्तुत गरेको बताउनुभयो। ब्रह्मज्ञानी महात्माहरूलाई सत्गुरुले प्रदान गरेको आध्यात्मिक ज्ञान र साधनाले चिन्ता तथा तनावलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

उक्त कार्यक्रममा सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारी, सञ्चालक बलबहादुर सार्की, शिक्षक भवनसिंह, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, पूर्व शिक्षक बलबहादुर रावललगायत स्थानीय सन्तहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सल्लाहकार सदस्य श्रीराम काफ्लेले गर्नुभएको थियो।

यसै अवसरमा काठमाडौं, धनगढी, मसुरिया, सडकपुर बौनियाँ, मोतीपुर, अमरावती, अत्तरिया, डोटी, महेन्द्रनगर, नेपालगञ्ज, सुर्खेत, जाजरकोट, सल्यान, प्यूठान, दाङ, रोल्पा, अछाम, दैलेख, बुटवल, कपिलवस्तु, हेटौडा, स्याङ्जा, पोखरा लगायतका विभिन्न स्थानस्थित सन्त निरंकारी सत्संग भवनहरूमा पनि योग दिवस भव्यताका साथ मनाइएको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।