अत्तरियामा विश्व योग दिवसमा योगप्रति जनचेतना अभिवृद्धि

अत्तरिया, असार २१ । विश्व योग दिवसको अवसरमा सन्त निरंकारी सत्संग भवन अन्तर्गत विशेष योग चेतनामूलक अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।


कार्यक्रममा अत्तरिया योग पीठका अध्यक्ष तथा योग गुरु दुर्गा प्रसाई र योग गुरु महेश खड्काले विशेष योग अभ्यास सत्र सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा साधसंगत, महापुरुषहरू, सेवा दलका सदस्यहरू तथा अन्य सहभागीहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो।


योग प्रशिक्षकहरूले योगलाई स्वस्थ, सन्तुलित र सुखी जीवनको आधारका रूपमा व्याख्या गर्दै नियमित योग अभ्यासले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति र आत्मिक सन्तुलन कायम गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँहरूले योगलाई दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाउन आग्रह गर्दै नियमित अभ्यासको महत्वबारे जानकारी गराउनुभएको थियो।


कार्यक्रमका सहभागीहरूले सामूहिक रूपमा विभिन्न योगासन तथा श्वास–प्रश्वाससम्बन्धी अभ्यासमा सहभागिता जनाएका थिए। योगमार्फत सकारात्मक सोच, आत्मअनुशासन तथा स्वस्थ जीवनशैलीको विकास गर्न सकिने विश्वास व्यक्त गर्दै सहभागीहरूले दैनिक जीवनमा योगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका थिए।

विश्व योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ, सुखी र अनुशासित जीवन निर्माणका लागि प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।




You must be logged in to post a comment.