पाँच दिनदेखि बेपत्ता सन्तोषीको खोजीमा गोताखोर

तनहुँ, असार १९ गते। पाँच दिनदेखि सम्पर्कविहीन रहेकी बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी सन्तोषी श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट खटिएको गोताखोरसहितको टोलीले देवघाट क्षेत्रअन्तर्गत नारायणी नदी आसपासका क्षेत्रमा खोजी कार्य तीव्र बनाएको छ। हालसम्म श्रेष्ठको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।

प्रहरीका अनुसार हाल गैंडाकोट–२ मा डेरा गरी बस्दै आएकी २८ वर्षीया श्रेष्ठ गत असार १४ गते साँझदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ सोही दिन साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर डेराबाट निस्कनुभएको थियो।
खोजतलासका क्रममा उहाँको स्कुटर हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर, उहाँको हालसम्म कुनै अत्तोपत्तो लागेको छैन।
श्रेष्ठ चितवनस्थित भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुनुहुन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
