अर्थ

उद्योगमन्त्रीसँग युवा व्यापारी मनोज कोटालको भेट, नेपाल–भारत व्यापार र प्रवासी नेपालीको लगानीबारे महत्वपूर्ण प्रस्ताव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २२ असार । एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ECCI) भारतका उपाध्यक्ष तथा युवा व्यापारी मनोज कोटालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवसँग २ जुलाईका दिन शिष्टाचार भेट गर्दै नेपाल–भारत व्यापार, सुख्खा बन्दरगाह (ड्राइपोर्ट) को प्रभावकारी सञ्चालन तथा प्रवासी नेपाली व्यवसायीहरूको लगानी सहभागितासम्बन्धी विभिन्न महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

काठमाडौंमा सम्पन्न भेटका क्रममा उपाध्यक्ष कोटालले हाल नेपालमा आयात हुने अधिकांश मालवस्तु कलकत्ता–बीरगञ्ज ड्राइपोर्टमार्फत मात्र भित्रिने व्यवस्था रहेको उल्लेख गर्दै भन्सार प्रणालीमा आधुनिक प्रविधिको पर्याप्त प्रयोग हुन नसक्दा राजस्व चुहावटको जोखिम बढिरहेको धारणा राख्नुभयो। उहाँले भन्सार तथा आयात–निर्यात प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सरकारको विशेष ध्यान आवश्यक रहेको बताउनुभयो।

बिज्ञापन

उहाँले नेपाल सरकारले भैरहवा, नेपालगञ्ज र सुदूरपश्चिमको कञ्चनपुरमा निर्माण गरिरहेका सुख्खा बन्दरगाह (ड्राइपोर्ट) परियोजनामा भारतमा व्यवसाय गरिरहेका नेपाली मूलका व्यापारी तथा लगानीकर्ताको समेत सहभागिता सुनिश्चित गर्न आग्रह गर्नुभयो। यस्तो सहभागिताले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुदृढ हुनुका साथै विदेशी लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुग्ने उहाँको विश्वास छ।

भेटका क्रममा कोटालले भारतमा दुई–तीन पुस्तादेखि बसोबास गर्दै आएका नेपाली मूलका नागरिकका लागि विशेष परिचयपत्रको व्यवस्था गर्नुपर्ने विषय पनि उठाउनुभयो। भारतले आफ्ना प्रवासी नागरिकलाई उपलब्ध गराउँदै आएको ओभरसिज सिटिजनसिप अफ इन्डिया (OCI) जस्तै नेपालले पनि ‘ओभरसिज नेपाली सिटिजनसिप’ वा सोही प्रकृतिको कानुनी परिचयको व्यवस्था गर्नुपर्ने उहाँको प्रस्ताव थियो।

उहाँका अनुसार यस्तो व्यवस्था भएमा प्रवासी नेपालीहरूले आफ्नो पैतृक भूमि नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालमा लगानी, उद्योग, व्यापार तथा अन्य आर्थिक गतिविधिमा कानुनी रूपमा सहज सहभागिता जनाउन सक्नेछन्।

कोटालले आफूले प्रस्तुत गरेका सबै प्रस्तावहरू मन्त्री यादवले गम्भीरतापूर्वक सुन्नुभएको र आवश्यक अध्ययनपछि उपयुक्त विषयहरू प्रधानमन्त्रीसमक्ष समेत प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो।

उहाँले प्रवासी नेपालीको अनुभव, सीप, पूँजी र अन्तर्राष्ट्रिय व्यापारिक सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न सके मुलुकको औद्योगिक तथा व्यापारिक क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो।

नेपाल–भारत व्यापार सहकार्यलाई थप विस्तार गर्दै लगानीमैत्री वातावरण निर्माण, व्यापारिक पूर्वाधारको आधुनिकीकरण तथा प्रवासी नेपालीको सक्रिय सहभागितालाई नीति निर्माणमा समेट्ने दिशामा सरकार गम्भीर बन्नुपर्नेमा भेटका क्रममा विशेष जोड दिइएको थियो।

(सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलकी आमाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन टीकापुर आउनुभएको अवसरमा मनोज कोटालसँग भएको भेटघाटका क्रममा सम्पादक पूर्ण कुमालले तयार पारिएको समाचार।)

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।