सरकारी भवन तीन दिनभित्र खाली गर्न आठ कर्मचारी संगठनलाई मन्त्रालयको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरिएका भवन तथा अन्य संरचना प्रयोग गर्दै आएका साविकका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूलाई तीन दिनभित्र भवन पूर्ण रूपमा खाली गरी तालाचाबी मन्त्रालयलाई बुझाउन निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेसँगै ती संगठनहरूको कानुनी अस्तित्व समाप्त भएको जनाएको छ। साथै, सम्बन्धित संगठनहरूको दर्तासमेत खारेज भइसकेको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को पूर्वनिर्णयअनुसार सरकारी जग्गाको भोगाधिकार प्राप्त गरी भवन तथा अन्य संरचना निर्माण तथा प्रयोग गर्दै आएका ती संगठनहरूको भोगाधिकारसमेत समाप्त भएको छ।
जारी सूचनामा सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना खाली गरी आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी तथा भवनको तालाचाबी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ। तोकिएको समयभित्र निर्देशन कार्यान्वयन नगरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।
यो निर्देशन स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायत आठ वटा साविकका कर्मचारी संगठनमा लागू हुने मन्त्रालयले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
