भारतमा काभ्रेका २६ वर्षीय युवाको रहस्यमय मृत्यु

पंजाब सम्बादाता
पञ्जाब, २३ असार । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु भएको परिवारले दाबी गरेको छ ।

परिवारका अनुसार सागरले अन्तिम पटक असार १९ गते आफ्नी आमासँग फोनमा कुरा गरेका थिए । त्यसपछि शनिबार बिहान करिब ८:३० बजे कम्पनीबाट १५ मिनेटमै फर्कन्छु भन्दै बाहिर निस्किएका उनी सम्पर्कविहीन भएका थिए ।
त्यसको भोलिपल्ट आइतबार दिउँसो करिब २ बजे कम्पनीबाट करिब पाँच मिनेटको दूरीमा रहेको क्षेत्रमा उनको शव भारतीय प्रहरीले फेला पारेको बताइएको छ । घटना भएको ६ दिनपछि मात्र परिवारले जानकारी पाएको र शव पूर्णरूपमा गलिसकेको अवस्थामा रहेकाले प्रवासी नेपाली एकता समाजको सहयोगमा शनिबार भारतमै अन्त्येष्टि गरिएको जनाइएको छ ।
परिवार तथा स्थानीयबासीले सागरको मृत्यु सामान्य नभई रहस्यमय हुनसक्ने आशंका गर्दै घटनाको निष्पक्ष, गहिरो र तथ्यपरक अनुसन्धानको माग गरेका छन् । उनीहरूले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय प्रहरीसँग समन्वय गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सागरका बुबा उद्धवप्रसाद नेपाललृे शंकास्पद मृत्युको छानबिन र कारबाही सम्बन्धमा भारतको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासलाई इमेल मार्फत पत्र लेखेका छन् । सागरका बुबा उद्धवले पत्रमा भनेका छन्, ‘घटनाको प्रकृति, स्थानीय प्रहरी (बस स्ट्यान्ड चौकीका इन्चार्ज बलवीर सिंह) को प्रारम्भिक सूचना र हामीले प्राप्त गरेका तस्बिरहरूका आधारमा मेरो छोराको मृत्यु सामान्य नभई रहस्यमय छ ।’
उनले पञ्जाब प्रहरी र स्थानीय प्रशासनसँग आवश्यक कूटनीतिक समन्वय गरी यस घटनाको निष्पक्ष अनुसन्धान, छानबिन गराई दोषीउपर कडा कानुनी कारबाही र क्षतिपूर्तिसहित पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन् । सागरका आफन्त कमल नेपालका अनुसार सागर आफ्ना दाइ (सौतेनी छोरा) नाता पर्ने उत्तम बोलखेसँग गत कात्तिक २० गते रोजगारीका लागि भारत गएका थिए । सुरुमा हिमाञ्चल प्रदेशको सिम्लामा करिब ७–८ दिन काम गरेपछि बढी तलबको आशामा पञ्जाब पुगेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
