कैलालीमा ईभी हाईस नालामा पल्टिँदा चालकसहित तीन जना घाइते

धनगढी (गौरीगंगा), ५ साउन । कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का क्षेत्रमा मंगलबार बिहान ईभी हाईस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टी एण्ड टी होटल नजिक सु.प.प्र. ०१–००१ ख ३७१४ नम्बरको ईभी हाईस आफैँ अनियन्त्रित भई सडकको दाहिनेतर्फको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–७ निवासी २३ वर्षीय चालक मिलन भुजेल, दुधौली नगरपालिका–४ निवासी २६ वर्षीय प्रकाश दाहाल र कैलालीको गोदावरी नगरपालिका–२ निवासी २८ वर्षीय सागर उपाध्याय घाइते भएका हुन्।
प्रहरीका अनुसार प्रकाश दाहालको मुख र छातीमा तथा सागर उपाध्यायको ढाड र खुट्टामा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि धनगढीस्थित नोभा अस्पताल पठाइएको छ।
चालक भुजेलको ढाडमा सामान्य चोट लागेको छ। उनको चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला हाईसमा चालकसहित तीन जना स्टाफ मात्र सवार रहेका थिए। दुर्घटनाबाट सवारी साधनको अगाडिको र पछाडिको भागमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
