अवर्गीकृत

सन्त निरंकारी मण्डल नेपालद्वारा गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गेटा (धनगढी), १२ साउन । सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा सामाजिक सेवाको उद्देश्यले आयोजित अभियानमा विभिन्न स्थानका सन्त, महात्मा, सेवादलका स्वयंसेवक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सरसफाइ अभियानमा सन्त निरंकारी सत्संग भवन अत्तरिया, धनगढी, पुनर्वास, मसुरिया तथा ओलानीबाट सहभागी भएका सेवादलका भाइ–बहिनीहरूले विश्वविद्यालय परिसरमा उम्रिएका काम नलाग्ने बोटबिरुवा, झारपात तथा अन्य फोहोर हटाएर परिसरलाई सफा बनाउने कार्यमा उत्साहपूर्वक खटिएका छन्। स्वयंसेवकहरूले हातहतियार तथा आवश्यक सरसफाइ सामग्री प्रयोग गरी परिसरको सौन्दर्य र स्वच्छता कायम गर्ने कार्यलाई निरन्तरता दिएका छन्।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, सन्त निरंकारी सत्संग भवन धनगढीका मुखी प्रकाशबहादुर साउद, सन्त निरंकारी मण्डल अछामका इन्चार्ज तथा ज्ञानप्रचारक जयबहादुर साउद, सन्त निरंकारी सत्संग भवन अत्तरियाका मुखी दीपक सिंह, सन्त निरंकारी सत्संग भवन ओलानीका मुखी लोकबहादुर कोली, सेवादल सञ्चालक करण सिंह ओड, रामबहादुर कोली, रोशन ओड, धनगढीका सेवादल शिक्षक अर्जुन विक तथा गोदावरी नगरपालिका दुई विद्यालयका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

बिहान ८ बजेदेखि सुरु भएको सरसफाइ अभियान समाचार तयार पार्दासम्म निरन्तर जारी रहेको थियो। अभियानमा सहभागी सेवादलका स्वयंसेवकहरूले दिनभर सेवा कार्यलाई निरन्तरता दिन फिल्डमै सामूहिक रूपमा खाना पकाएर भोजन गर्ने व्यवस्था समेत गरेका छन्। उक्त सरसफाइ अभियानमा करिब १५० जना स्वयंसेवक, सन्त–भक्त तथा विद्यार्थी बहिनीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

सन्त निरंकारी मण्डल नेपालले आध्यात्मिक चेतनासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिँदै वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, रक्तदान तथा विभिन्न मानवीय सेवामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। गेटामा सञ्चालन गरिएको यो सरसफाइ अभियानले स्वच्छ वातावरण निर्माणका साथै समाजमा सेवा, सहकार्य र वातावरण संरक्षणप्रतिको जनचेतना अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।