स्वास्थ्य

शुल्क उही, सुविधा घट्दै : स्वास्थ्य बीमाबाट दुई वर्षमा १८७ प्रकारका औषधी हटाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २६ साउन । स्वास्थ्य बीमामा सहभागी नागरिकले तिर्ने शुल्क यथावत् रहे पनि उनीहरूले पाउने औषधी तथा उपचार सुविधाको दायरा भने पछिल्लो समय खुम्चिँदै गएको छ । स्वास्थ्य बीमा बोर्डले पछिल्लो दुई वर्षमा सुविधा थैलीबाट १८७ प्रकारका औषधी हटाएको छ ।

बोर्डले सुविधा थैलीमा समावेश औषधीको सूचीमा पटक–पटक संशोधन गर्दै आएको छ । अघिल्लो वर्ष गरिएको तेस्रो संशोधनपछि सुविधा थैलीमा रहेका औषधीको संख्या १ हजार १५६ मा झारिएको थियो । त्यसको केही महिनामै गरिएको चौथो संशोधनमार्फत थप ५४ प्रकारका औषधी हटाइएपछि अहिले सुविधा थैलीमा १ हजार १०२ प्रकारका औषधी मात्र कायम छन् ।

पछिल्लो संशोधन यही साउन ५ गतेदेखि कार्यान्वयनमा आएको हो । हटाइएका औषधीमध्ये आकस्मिक सेवामा प्रयोग हुनेदेखि केही खोपसमेत रहेको बोर्डले जनाएको छ ।

औषधी तथा उपचार सुविधा घटाउँदै जाने निर्णयप्रति बीमितहरू भने असन्तुष्ट छन् । उनीहरूले बीमाका लागि तिर्नुपर्ने शुल्कमा कमी नगरी सुविधा मात्र कटौती गर्नु उचित नभएको बताएका छन् ।

बालाजु माछापोखरीका रमेश ढुंगेलले बीमितबाट समान शुल्क लिएर सुविधा घटाउँदै जानु नागरिकप्रति अन्याय भएको बताए । “शुल्क उही तिर्नुपर्ने तर सुविधा थैली आफूखुसी घटाउँदै जाने हो भने यसले जनतामाथि अन्याय हुन्छ,” उनले भने, “गुपचुप रूपमा उपचार तथा औषधीको सुविधा घटाउने प्रवृत्ति राज्यले सच्याउनुपर्छ ।”

यता स्वास्थ्य बीमा बोर्डका प्रवक्ता तथा वरिष्ठ मेसु डा. पवनकुमार साहले एउटै प्रयोजनका लागि प्रयोग हुने औषधीहरूको सूचीलाई व्यवस्थित गर्ने क्रममा सुविधा थैलीमा सामान्य फेरबदल गरिएको बताए ।

उनका अनुसार केही खोपसहित एउटै कामका लागि प्रयोग भइरहेका औषधीको संख्या घटाइएको हो । “स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजनामा हामी लागिरहेका छौँ । त्यसक्रममा सुविधा थैलीमा रहेका औषधीको सूचीमा सामान्य फेरबदल गरिएको हो,” उनले भने, “यसबाट सेवाग्राहीलाई ठूलो असर पर्दैन ।”

यसअघि नै बोर्डले तेस्रो संशोधनपछि ओपीडी सेवामा २५ हजार रुपैयाँभन्दा बढीको उपचार सुविधा नदिने गरी क्यापिङ लागू गरिसकेको छ । त्यस्तै, सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा १० प्रतिशत र निजी स्वास्थ्य संस्थामा २० प्रतिशत रकम बीमित स्वयंले व्यहोर्नुपर्ने व्यवस्था छ ।

बीमितहरूले भने सुविधा थैलीमा उपचार, परीक्षण र औषधीको पहुँच क्रमशः सीमित हुँदै गएको गुनासो गर्दै आएका छन् । कतिपय अस्पतालमा स्वास्थ्य बीमामार्फत पाउनुपर्ने औषधी, परीक्षण तथा उपचार सुविधा तोकिएअनुसार उपलब्ध नहुने समस्या समेत देखिएको छ ।

सेवा सुविधामा देखिएका यस्ता समस्या र बारम्बार हुने कटौतीका बाबजुद नागरिकहरूले स्वास्थ्य बीमा कार्यक्रमप्रतिको विश्वास भने कायमै राखेका छन् । तर, बीमितबाट लिइने शुल्क र उनीहरूले प्राप्त गर्ने सुविधाबीचको सन्तुलन कायम गर्न नसकिए स्वास्थ्य बीमाप्रतिको नागरिक विश्वासमा समेत असर पर्न सक्ने देखिन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।