कैलाली

गौरीफन्टा नाकामा कडा चेकजाँच, आधार कार्ड मात्र देखाउनेलाई प्रवेश रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गौरीफन्टा, २५ साउन । नेपाल–भारत सीमा नाका गौरीफन्टामा सीमा आवतजावतका क्रममा परिचय खुल्ने कागजातको जाँचमा कडाइ गरिएको छ। नयाँ व्यवस्थाअनुसार केवल आधार कार्डका भरमा सीमा पार गर्न खोज्ने यात्रुलाई प्रवेश नदिइएको जनाइएको छ।

भारतको गृह मन्त्रालयको निर्देशनअनुसार सीमा क्षेत्रमा परिचयपत्रसम्बन्धी जाँचलाई कडाइ गरिएको बताइएको छ। गौरीफन्टा नाकामा खटिएको सशस्त्र सीमा बल (एसएसबी) ले नयाँ व्यवस्था कार्यान्वयन गर्दै यात्रुको कागजात जाँच गर्न थालेको हो।

नयाँ व्यवस्थाअनुसार नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकले मतदाता परिचयपत्र (भोटर आईडी) वा वैध राहदानीमध्ये आवश्यक कागजात साथमा राख्नुपर्नेछ। आधार कार्डलाई मात्रै सीमा पार गर्ने प्रयोजनका लागि पर्याप्त कागजातका रूपमा स्वीकार नगरिएको बताइएको छ।

अभिभावकसँग यात्रा गर्ने बालबालिकाका लागि भने विद्यालयको परिचयपत्र वा राशन कार्डलगायतका कागजातलाई मान्यता दिइने जनाइएको छ।

नयाँ नियमबारे जानकारी नहुँदा आधार कार्ड मात्रै बोकेर गौरीफन्टा पुगेका केही यात्रुलाई सीमा क्षेत्रबाटै फर्काइएको बताइएको छ। यसबाट दैनिक रूपमा सीमा वारपार गर्ने स्थानीय बासिन्दा, व्यापारी तथा अन्य यात्रु प्रभावित भएका छन्।

सीमा सुरक्षा निकायका अनुसार नक्कली परिचयपत्रको प्रयोग, अवैध घुसपैठ तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले पहिचानसम्बन्धी जाँचलाई कडाइ गरिएको हो। खुला सीमाको निगरानीलाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरिएको सुरक्षा निकायको भनाइ छ।

गौरीफन्टा हुँदै आवतजावत गर्ने यात्रुलाई यात्रा गर्नुअघि आवश्यक कागजात साथमा राख्न र सीमा जाँचका क्रममा समस्या नआउने गरी निर्धारित प्रक्रिया पूरा गर्न सुरक्षा निकायले आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।