अछामको तिमिल्सैनमा जङ्गली बिरालोको आक्रमणबाट ३० कालिज मरे, किसानलाई लाखौँको क्षति

अछाम, २ भाद्र । बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनमा सञ्चालित कालिज फर्ममा जङ्गली बिरालोले आक्रमण गर्दा ३० वटा कालिज मरेका छन्।
झनक राज शर्माले सञ्चालन गरेको फर्ममा साउन ३१ गते राति जङ्गली बिरालोले फर्ममाथि लगाइएको जाली च्यातेर भित्र प्रवेश गरी कालिज मारेको हो। आक्रमणबाट फर्म सञ्चालकलाई आर्थिक क्षति पुगेको छ।
फर्ममा जङ्गली जनावरको आक्रमण यो पहिलोपटक भने होइन। गत वर्ष पनि सोही फर्ममा जङ्गली बिरालोले आक्रमण गरी १५० भन्दा बढी कालिज मारेको सञ्चालकले बताएका छन्।
बारम्बार जङ्गली जनावरको आक्रमण हुन थालेपछि फर्मको सुरक्षा व्यवस्थापन थप मजबुत बनाउनुपर्ने देखिएको छ। विशेषगरी फर्म वरिपरि बलियो जाली तथा अन्य सुरक्षा संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ। कृषि तथा पशुपालनमा लगानी गरिरहेका किसानलाई यस्ता समस्याबाट हुने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले पनि आवश्यक सहयोग र सुरक्षा उपायमा ध्यान दिनुपर्ने देखिन्छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
